कर्मचारी र मिडियाको पैसा कति छ ? आयोग बनाएर  छानबिन गरौँ : सांसद महत

रिपोर्ट नेपाल | 2019 Jan 01 | 03:29 pm 3594

काठमाडौं, पुस १७ :   जुम्लाका सांसद गजेन्द्र महतले मिडियाको सम्पत्ति छानबिन गर्न माग गरेका छन् । प्रतिनिधिसाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद महतले पछिल्लो समय सञ्चारमाध्यम संसद र सांसदविरुद्ध योजनावद्ध रूपमा लागेको, सांसदहरूको गरिमाको मानमर्दन गर्न उद्यत रहेको, हिलो छ्याप्न लागेको आदि आरोप लगाउँदै सम्पत्ति छानबिनको माग गरेका हुन् ।

‘कर्मचारीहरुले मिडियालाई सबै सूचना दिन्छन्, मिडियाले योजनावद्ध ढंगले गरिमामय संसदमाथि प्रहार गर्ने गरिएको छ’ उनले भने ‘यहाँ कर्मचारी र मिडिया लागेर पासो थापिन्छ, त्यो पासोमा एक दुई जना माननीय पर्छन् त्यो माननीय परिसकेपछि ठूलो हंगामा गराइन्छ ।’

सांसद महतले काठमाडौंमा घर भएका सांसदले समेत घर भाडा बुझेको तथा मन्त्रीहरूले इन्धनको दोहोरो सुविधा उपयोग गरेको समाचार प्रकाशन गरेर मिडियाले ‘हिलो छ्यापेको’ आक्षेप समेत लगाए ।

संसदबारे सञ्चार माध्यममार्फत ठूलो भ्रम छरिएको पनि उनले गुनासो गरे  । उनले कर्मचारीले मिडियालाई सूचना चुहाएको आरोप लगाउँदै भने, “सभामुखज्यू, यहाँ मिडिया र कर्मचारीले मिलेर पासो थापेका छन् । केही सांसद पर्नुहुन्छ । हामीलाई पैसा कमायो भन्छन् । मन्त्री, सांसद, कर्मचारी र मिडियाको पैसा कति छ ? आयोग बनाएर  छानबिन गरौँ । त्यत्तिकै हिलो छ्याप्न पाइँदैन,” उनले थपे, “सभामुखदेखि माननीयसम्मले पीएको तलब आफैँले खान्छन् भनेजस्तो गरेर प्रचार गरिएको छ । नक्कली बिरामीको बिल बनाएर बिरामीको पैसा लैजान्छन् भनिएको छ । घरभाडाको विषयमा संसद सचिवालयले आफैँले जानकारी गराए पनि हुन्थ्यो ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.