काठमाडौं, पुस १७ : आज अंग्रजी नयाँ २०१९ को सुरुवातमा नेपाली टोपी दिवस मनाइँदै छ। माइतीघर क्षेत्रमा टोपी बचाउ अभियानमा लागेका मंगलबार बिहान ८ बजे कार्यक्रम गरिने भएको छ।
अंग्रेजी नयाँ वर्षको पहिलो दिन (१ जनवरी) लाई नेपाली टोपी दिवसका रुपमा मनाउँदै आएको युवाहरुको समूह जागरुक युवा अभियान नेपालले पाँच वर्षदेखि टोपी बचाउ अभियान चलाउँदै आएको छ ।
टोपीलाई नेपाली पोशाकका रुपमा लिने गरिए पनि पछिल्लो समय यसलाई नेपाली पोशाकको सूचिबाट राज्यले हटाइएको भन्दै संविधान संशोधनमा यो विषयलाई पनि उठाउनुपर्ने माग समेत गरिएको छ।
ढाका टोपीको माथिल्लो भागको चुचुरोले हिमालको प्रतिनिधित्व गर्ने, बीचको भिरालो भागले पहाडको प्रतिनिधित्व गर्ने र सबैभन्दा तलको समथर भागले तराईको प्रतिनिधित्व गर्ने जागरुक युवा अभियान नेपालका सदस्य तथा युवा भएर पनि कहिल्यै टोपी शीरमा नछुटाउने व्यक्ति ज्ञानमणि नेपालले बताए।
नेपाली टोपीले सबै जाति तथा क्षेत्रको प्रतिनिधित्व गर्छ, तसर्थ नेपाली टोपी नेपाली पहिचानका रुपमा घोषणा गर्न उनको माग छ। ढाकाटोपी, कालोटोपी, भाद्गाउँले टोपी लगायत यी र यस्तै आकारप्रकारका विविध सामुदायिक टोपीहरु यस अन्तर्गत नै पर्छन्।
एकदिन मात्र टोपी लगाएर फोटो खिचाउने र ३६४ दिन मतलब नगर्नेहरुलाई तस्बिर खिचाउनका लागि टोपी नलगाउन उनीहरुको आग्रह छ। यसले गर्दा गम्भीर विषय पनि हल्का बन्ने उनीहरुको विश्लेषण छ।