गगनले पूरा समय बोल्न नपाउँदै सभामुखले माइक काटेपछि…

| 2018 Dec 29 | 07:45 am 1812

काठमाडौं, पुस १४  : नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले सम्बोधन गरिरहँदा सभामुख कृष्ण बहादुर महराले निर्धारित समयअगावै माइक काटेकाे भन्दै कांग्रेसले आपत्ति जनाएको छ।

प्रतिनिधिसभाको शुक्रवारको बैठकमा विशेष समयमा धारणा राख्ने क्रम चलिरहेकाे थियो। पालो आयो नेपाली कांग्रेसका सांसद थापाको। उनी माइक समातेर बोल्न थाले। कर्मचारी समायाेजन अध्यादेश विभेदकारी रहेको भन्दै फिर्ता लिन उनले सुझाव दिइरहेका थिए।

उनी २ मिनेट ३१ सेकेण्ड बोलिसक्दा माइकको लाइन काटियो। माइक काटिएको ५ सेकेण्डसम्म बोलेर गगन रोकिए। त्यसपछि सभामुखले नेकपाका सांसद नरबहादुर धामीलाई ३ मिनेटको समयसहित बोल्न दिए। धामी बोलिरहँदा गगन आफ्नो सीटबाट उठेर पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँड बसिरहेको ठाउँमा पुगेर निर्धारित समय अगावै माइकको लाइन काटिएको गुनासो गरे। यसमा सभामुखको ध्यानाकर्षण गराउन उनले आग्रह गरे।

सांसद धामी बोलिसकेपछि सभामुखले बोल्नका लागि तेजुलाल चौधरीलाई समय दिए, तर प्रमुख सचेतक एवं सांसद खाँडले आफ्नो सांसदको निर्धारित समयअघि नै माइकको लाइन काटिएको भन्दै उठेर नियमापत्ति जनाए। खाँडले भने, ‘घडी विग्रिएछ, भर्खरै पूर्ववक्ता माननीय ज्यूहरुलाई निर्धारण गरिएको समयभन्दा पहिले नै लाइन काटियो। त्यसकारण माननीयज्यूहरुले आफ्नो कुरा राख्ने क्रममा पूर्वतयारी गर्नुहुन्छ, त्यसअन्तर्गत आफ्ना कुरा राख्न पाइएन। सभामुखले जवाफमा भने, ‘निर्धारित समयभन्दा ३० सेकेण्ड बढी बोल्नुभयो। हाम्रो रेकर्डमा।’ त्यसपछि खाँडले भने, ‘त्यही त घडी विग्रिएछ के अलि, यतापट्टी ध्यान जाओस।’ फेरि सभामुखले भने समय साढे ४ मिनेट हो। माननीय सदस्यले उठाएका प्रश्न म्यानेजमेन्टको प्रश्न हो। हाम्रो ध्यानाकर्षण भएको छ।’

संसदको बैठकमा सांसद थापाले सरकारले ल्याएको कर्मचारी अध्यादेशको बिरोध गरेका थिए। देउवा सरकारले बनाएको कर्मचारी समायोजन ऐन कार्यान्वयन गरेर संघीय निजमती, प्रदेश र स्थानीय तह ऐन र प्रादेशिक लोकसेवा बनाएको भए अहिले समस्या नहुने उनको तर्क छ। थापाले भने, ‘यस्तो सुल्टो बाटो हिडाउने जिम्मा कसको? सम्माननीय प्रधानमन्त्रीको। त्यसैले प्रधानमन्त्रीलाई भन्यौं, नबोल्नुस् काम गर्नुस्।’

सेवा निवृत्त हुन लागेको सचिव र केही वरिष्ठ कर्मचारीको स्वार्थमा संसद छलेर अध्यादेश आएको उनले आरोप लगाए। अध्यादेशको बारेमा लोकसेवा आयोगले दिएको परामर्श समेत सरकारले लत्याएर अध्यादेश ल्याउनुको तुक नभएको बताए। ‘यहाँ चिन्ता कर्मचारीको होइन सभामुख महोदय, चिन्ता जनताको सेवाको हो,’ उनले भने।

अध्यादेशमा विभेद र स्वेच्छातारिता रहेको उनले बताए। ‘एउटै खालको कर्मचारी एकै पटक सेवा प्रवेश गर्दैगर्दा एउटा मुख्यसचिवसम्म जान पाउने, अर्को तलै रोकिनु पर्ने?’ थापाले भने, ‘सेवा बदल्ने भएपछि उसको स्वीकृति हुनु पर्दैन? कर्मचारी जहाँ खटाए पनि जानुपर्छ। तर, हामी यहाँ प्रदेश र स्थानीय तहको कुरा गर्दैछौं। खोई प्रदेशको आयोग? खोइ प्रदेशको ऐन? खोई स्थानीय सरकारको ऐन?’ कर्मचारीको समस्या समाधान गर्न सरकारसँग मिलेर काम गर्ने प्रस्ताव राख्दै यो अध्यादेश फिर्ता लिन आग्रह गरे। ‘सरकारलाई हाम्रो अनुरोध छ। अध्यादेश फिर्ता लिएर जानुस्। तत्काल तीनै तहको ऐनहरु बनाउनुस्। संसदमा रातारात काम गरौं। हामी रातारात काम गर्न तयार छौं,’ उनले भने। अध्यादेश फिर्ता नलिए अन्यथा भन्दै गर्दा उनको माइक काटिएको हो। उनले भनेको थिए, ‘अध्यादेश फिर्ता लैजान जान म सरकारसंग जोडदार माग गर्दछु।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.