सुरक्षा तथा भाडा समायोजन गर्न ट्याक्सी चालकको माग

रिपोर्ट नेपाल | 2018 Dec 28 | 05:13 pm 1213

काठमाडौं, १३ पुस : उपत्यकामा चल्ने ट्याक्सी चालक तथा व्यवसायीले बदलिँदो परिस्थितिअनुसार वैज्ञानिक भाडादर कायम गर्न तथा ट्याक्सी चालकको सुरक्षाको प्रबन्ध गर्न माग गरेका छन् ।

राष्ट्रिय समाचार समिति (रासस)का व्यवस्थापन तथा पत्रकार र काठमाडौँ उपत्यकामा चल्ने ट्याक्सी चालक एवं व्यवसायीबीच बिहीबार भएको छलफल ।

बारम्बार ट्याक्सी चालकमाथि साङ्घातिक आक्रमण हुन थालेपछि उनीहरूले सरकार समक्ष चालकको सुरक्षाको सुनिश्चितता गर्न र २०६९ सालमा तोकिएको भाडादर परिमार्जित गरेर वैज्ञानिकरुपमा भाडादर कायम गर्न सरकारसँग माग गरेका हुन् ।

वैज्ञानिक भाडादर कायम नहँुदा बाध्यतावश यात्रु ठगिने गरेको बताउँदै उनीहरूले यात्रु ठगिनबाट जोगिन पनि भाडादर समायोजन हुनुपर्ने बताउँछन् । २०६९ सालदेखि भाडा समायोजन भएको छैन । छिमेकी मुलुकहरूमा मिटरको शुरुआत कल तीन किलोमिटर बराबर हुन्छ । त्यो हिसाबले हाम्रो यहाँको मिटरमा शुरुमा कल एकदमै कम छ व्यवसायी एवं चालक पूर्ण तामाङले बताए ।

शुरुमा कल एकदमै कम भएकाले यहाँका छोटो दूरीमा ट्याक्सीले मिटरमा यात्रु लैजान समस्या भइरहेको उनको भनाइ छ । ‘मूल्यवृद्धिको आधारमा किमीको भाडा पनि कम छ, पर्याप्त ट्याक्सी पार्किङ तथा ट्राफिक प्रहरीले गर्ने व्यवहार समेत राम्रो छैन ।’

सुरक्षाका सवालमा ट्याक्सी चालक असुरक्षित रहेको बताउँदै तामाङले २०७४ सालमा भक्तपुर मनोहरा किनारामा चालक यज्ञ खड्काको गाडीभित्र हत्या, गत कात्तिक २४ गते चालक भरत मल्ललाई सोही स्थानमा लगेर आक्रमण गरी गम्भीर घाइते बनाएको जानकारी दिए ।

यही पुस १ गते चालक डम्बर खड्कालाई ट्याक्सी चलाइरहेका बेला ललितपुरको पुल्चोकबाट बालकुमारी खोला किनारामा लगेर कुटपिट गरी गम्भीर घाइते बनाइएको घटनाका दोषी पत्ता नलाग्नु गम्भीर विषय भएको तामाङले बताए ।

व्यवसायी तथा चालक समाज सेवाका अभियानकर्ता सानु पूर्वाछाने मगर, तामाङलगायतका व्यक्तिले करीब रु ५७ हजार चन्दा उठाएर घाइतेको उपचार गरिएको बताउँदै तामाङले कुटपिटबाट यज्ञले आँखा गुमाउनु परेको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.