काठमाडौँ, १३ पुस : नेपाली काँग्रेसका सांसद गगन थापाले कर्मचारी समायोजन अध्यादेश तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेका छन्ग । शुक्रवार बसेको संसद् बैठकमा सांसद थापाले अध्यादेश फिर्ता लिएर तत्काल सङ्घ, प्रदेश र स्थानीय तहको निजामती सेवा ऐन ल्याउन सुझाव दिए ।
कर्मचारीको विषयमा देखिएको समस्या सुल्झाउन काँग्रेस सरकारलाई सहयोग तयार रहेको भन्दै सांसद थापाले ऐन पारित गर्न रातारात काम गर्न पनि तयार रहनु पर्ने बताए ।
कर्मचारी समायोजन अध्यादेश विभेदपूर्ण रहेको टिप्पणी गर्दै सांसद थापाले त्यही अध्यादेशले कुनै कर्मचारीलाई मुख्यसचिवसम्म हुने बाटो बनाएको तर कसैलाई भने प्रदेश र स्थानीय तहमै सीमित बन्नु परेको बताए । उनले सेवा निवृत्त हुन लागेका एक सचिव र केही वरिष्ठ कर्मचारीको स्वार्थमा अध्यादेश आएको जिकिर गर्दै अध्यादेश फिर्ता लिनु भन्दा अर्को विकल्प नरहेको प्रस्ट पारे ।