सरकारले बंगलादेश, दक्षिण कोरिया र स्पेनका राजदूतलाई पनि फिर्ता बोलायो

रिपोर्ट नेपाल | 2018 Dec 27 | 09:21 am 1820

काठमाडौं, पुस १२ : सरकारले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा नियुक्त तीन राजदूतलाई फिर्ता बोलाएको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजदूतहरू डा. चोपलाल भुसाल (बंगलादेश), अर्जुनजंगबहादुर सिंह (दक्षिण कोरिया) र भरतबहादुर रायमाझी (स्पेन) लाई फिर्ता गर्ने निर्णय गरेको प्रधानमन्त्री केपी ओलीका एक सल्लाहकारले बताए।

उनका अनुसार ती राजदूतलाई नेपाल फिर्ता हुन तीन साताको समय दिइएको छ। भुसाल र सिंह कांग्रेस तथा रायमाझी राप्रपाको कोटामा राजदूत भएका हुन्। सरकारले देउवाका पालामा नियुक्त चार राजदूत विश्वम्भर प्याकुरेल (श्रीलंका), प्रतिभा राणा (जापान), रमेश कोइराला (कतार), भीम उदास (म्यानमार) र ओलीकै अघिल्लो कार्यकालमा तत्कालीन फोरम लोकतान्त्रिकको कोटामा नियुक्त शर्मिला पराजुली ढकाल (ओमन) लाई भने फिर्ता गरेको छैन।

कांग्रेस कोटामा नियुक्त बाँकी चार राजदूतलाई समेत फिर्ता बोलाउने गृहकार्य भइरहेको स्रोतले जनाएको छ। तत्कालीन फोरम लोकतान्त्रिकको सिफारिसमा राजदूत भए पनि नेकपानिकट भएका कारण पराजुली भने फिर्ता हुने सूचीमा छैनन्।

सरकारले राप्रपा कोटामा देउवाकै पालामा नियुक्त इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फर्काई त्यहाँ अञ्जान शाक्यलाई नियुक्त गरी एग्रिमोका लागि नाम पठाइसकेको छ।

देउवाकै पालामा तत्कालीन माओवादी कोटामा नियुक्त तीन राजदूतमध्ये लक्की शेर्पा (अस्ट्रेलिया) विवादमा परेकी छन् भने पदम सुन्दास (बहराइन) र यमुनाथ लम्साल (डेनमार्क) लाई यथावत् राख्ने तयारी सरकारको छ।

मन्त्रिपरिषद्ले ‘मानव तस्करी’ आरोपमा परराष्ट्र मन्त्रालयको आन्तरिक छानबिनमा परेकी राजदूत शेर्पाका बारेमा कुनै निर्णय नगरेकोसमेत स्रोतले जनाएको छ। परराष्ट्र मन्त्रालयद्वारा गठित छानबिन समितिले शेर्पालाई काठमाडौं बोलाएर बयान लिइसकेको छ। समितिबाट छानबिन प्रतिवेदन आइनसकेकाले शेर्पालाई फिर्तागर्ने/नगर्नेबारे मन्त्रिपरिषद्ले निर्णय नलिएको हो।

राजदूत शेर्पाकै चालक वाङछु शेर्पाले उनीमाथि १० लाख रुपैयाँ लिएर आफूलाई अस्ट्रेलिया लगेको र श्रीमतीलाई लैजान थप पैसा मागेको आरोप लगाएका छन्।

राजदूत शेर्पासित विवादपछि आफूलाई खतरा रहेको भन्दै वाङछु दूतावास छाडी अस्ट्रेलियामा ‘शरण’ मागेर बसेका छन्। उनी अहिले अस्ट्रेलिया सरकारको निगरानीमा छन्। नेपाल प्रहरीले वाङछु मानव तस्करीमा संलग्न पाइएको भन्दै उनलाई इन्टरपोलमार्फत नेपाल फिर्ता गर्न अस्ट्रेलिया प्रहरीलाई आग्रह गरिसकेको छ।

वाङछुकी श्रीमती मानव तस्करीकै आरोपमा पुर्पक्ष थुनामा छिन्। अस्ट्रेलियास्थित नेपाली दूतावासले एक महिनाअघि विज्ञप्ति जारी गरी वाङछु राजदूतको निवासबाट चोरी गरेर भागेको र उनले लगाएको आरोपमा सत्य नरहेको दाबी गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.