काठमाडौं, पुस १२ : पुस महिनाको उत्तरार्धतिर आउँदा सिङ्गो मुलुक चिसोले आक्रान्त बनेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपातले जनजीवन प्रभावित बनाएको छ भने तराई मधेस क्षेत्रमा शितलहर र चिसोले जनजीवन अस्तव्यस्त पारेको छ । बारा, पर्सा, रौतहट, सिरहा, नवलपरासी (पूर्व र पश्चिम), रूपन्देही, कैलालीलगायत तराईका अधिकांश क्षेत्रमा शीतलहरको प्रभाव देखिएको छ ।
मानिसहरू सडक पेटी, चोक तथा गल्लीमा आगो तापेर बसेका देखिन्छन्। चिया पसलमा पनि मानिसको उल्लेख भीड देख्न सकिन्छ। सामाजिक सञ्जालको पहुँच हुनेहरू आगो तापेका, मुखै छोप्ने गरी गलबन्दी बाँधेका तस्बिर फेसबुकमा राखेको पनि देखिन्छ ।
बिहीबार दिपायलको न्यूनतम तापक्रम १ दशमवल ८ डिग्री मापन गरिएको छ। त्यस्तै डडेल्धुराको न्यूनतम तापक्रम शून्य दशमलव ७ डिग्री पुगेको छ। धनगढीको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री, विरेन्द्रनगरको तापक्रम २ दशमलव ८ डिग्री, नेपालगन्जको २ दशमलव ८ डिग्री पुगेको छ।
जुम्लाको तापक्रम अहिलेसम्मकै न्यनू माइनस ८ डिग्री मापन गरिएको छ। दाङको तापक्रम ५ डिग्री, पोखराको ६ दशमलव ५ डिग्री, भैरहवाको तापक्रम ७ डिग्री, सिमराको ५ दशमलव ५ डिग्री छ भने काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव ५ डिग्री मापन गरिएको छ।
ओखलढुंगाको ४ दशमलव ६ डिग्री, ताप्लेुङको ३ दशमलव ५ डिग्री, धनकुटाको ७ दशमलव ६ डिग्री, विराटनगरको ८ दशमलव ४ डिग्रीमा झरेको छ। जोमसोमको न्यूनतम तापक्रम माइनस ३ दशमलव २ डिग्री छ भने जिरीको तापक्रमा माइनस ३ दशमलव ३ डिग्री मापन गरिएको छ। लुम्लेको तापक्रम २ डिग्री छ भने जनकपुरको तापक्रम ७ डिग्री मापन गरिएको छ।
देशका पहाडी भुभागहरुमा आंसिक देखि सामान्य बदली रहने तथा अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी पहाडी भुभागका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ भने उच्च हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज बिहान काठमाडौंमा ६ बजेर ५३ मिनेटमा भएको छ भने सुर्यास्त बेलुका ५ बजेर १७ मिनेटमा हुनेछ।