पाकिस्तानका पूर्व प्रधानमन्त्री शरिफ अदातलबाटै पक्राउ, भ्रष्टाचार अभियोगमा ७ वर्ष जेल सजाय

रिपोर्ट नेपाल | 2018 Dec 24 | 07:05 pm 1848

इस्लामावाद, पुस ९ : पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफलाई पुन: जेल सजाय सुनाइएको छ।

इस्लामावाद स्थित अख्तियार दुरुपयोग सम्बन्धी मुद्दा हेर्ने अदालतले शरिफलाई घोषणा गरिएको सम्पत्तिभन्दा बढी लगानी गरेको अभियोगमा ७ वर्षको जेल सजाय सुनाएपछि उनलाई पुन: जेल चलान गरिन लागिएको हो। उनी अर्को भ्रष्टाचार अभियोग मुद्दामा हाल जमानतमा थिए।

अदालतले शरिफले साउदीमा उनको स्वामित्वमा रहेको अल-अजिजा स्टिल मिलको आयबारे प्रमाण दिन नसकेको फैसलामा उल्लेख गरेको छ। अदालतले बेलायतमा रहेको फ्ल्यागसिप लगानीमा पर्याप्त प्रमाण नभएको भन्दै सो मुद्दामा उनलाई सफाई दिएको छ।

पाकिस्तानबाहिर रहेका शरिफका दुई छोरा, हसन र हुसेन अदालतले भगौडा घोषित गरेको छ।

शरिफलाई अदालत परिसरमै पक्राउ गरिएको बीबीसीले जनाएको छ। उनलाई लाहोरस्थित कारागारमा राख्ने तयारी भइरहेको जनाइएको छ।

पाकिस्तानमा गत जुलाईमा भएको आम निर्वाचनका लागि लन्डनबाट पाकिस्तान फर्केका शरिफसहित उनकी छोरीलाई भ्रष्टाचारको अभियोगमा पक्राउ गरी जेल चलान गरिएको थियो। शरिफलाई अदालतले १० वर्षको जेल सजाय सुनाएको थियो। तर सेप्टेम्बरमा भने इस्लामावादको उच्च अदालतले उनलाई जमानतमा रिहा गरेको थियो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.