काठमाडौं, पुस ७ : पुस सुरु भएसँगै तराई मधेसमा शीतलहरको ‘कहर’ सुरु भएको छ। बिहानसाँझ चिसो बढेको त छ नै, चार दिनदेखि दिउँसो पनि घाम देखिँदैन। शरीर कठ्यांग्रिन थालेको छ। हुनेखानेले जतन गरेर राखेको बाक्लो लुगा पहिरिन थालेका छन्। तर आर्थिक स्थिति कमजोर हुने तराईका मुसहर र डोम जस्ता समुदायका लागि शीतलहर कहर मात्रै नभई काल बनेर आउँछ।
गरिबको सिरकडसना भनेकै पराल। कठियांग्रिदा आगो ताप्न बाल्ने दाउरा पनि उही पराल। प्रदेश २ का धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा अहिले गरिब र दलित बस्तीमा चिसोबाट बच्ने प्रमुख साधन पराल बनेको छ। शीतलहरले गरिबको दैनिकी प्रभावित गरेको छ। दैनिक काम गरी खाने मजदुर बिहानबेलुका बाहिर निस्कन सकेका छैनन्। शीतलहरको प्रकोप बढ्न थाले पनि स्थानीय सरकारले गरिब तथा विपन्नलाई कसरी जाडोबाट बच्ने भन्ने न सूचना दिएका छन्, न त कुनै राहतका कार्यक्रम नै सार्वजनिक गरेका छन्।
त्यस्तै जुम्ला, हुम्ला, मनाङ, मुस्ताङलगायतका हिमाली जिल्लामा हिमपात सुरु भएसँगै तापक्रम पनि घटेको छ। शनिबार बिहान जुम्लाको तापक्रम माइन ६ दशमलव ७ डिग्री मापन गरिएको छ।
दैनिक मजदुरी गरी जीविकोपार्जन गर्ने मजदुर, किसान र रिक्साचालक चिसो मौसमबाट बढी प्रभावित छन्। हिमपात र शीतलहरका कारण बालबालिकामा निमोनियाको प्रभाव बढी देखिएको छ। दमका रोगीको संख्या पनि बढेको चिकित्सकको भनाइ छ। चिसो बढेपछि मजदुर बाहिर निस्कन सकेका छैनन्, जसकारण उनीहरूको दैनिकी कष्टकर बनेको छ।
पुस ७ गते (शनिवार) दिउँसो देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहने र अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने देखिन्छ ।
आज काठमडौंमा सुर्योदय बिहान ६ बजेर ५१ मिनेटमा भयो भने सुर्यास्त बेलुका ५ बजेर ४१ मिनेटमा हुनेछ।