जनतालाई गुणस्तरीय जीवन–समाजवादको लक्ष्य

रिपोर्ट नेपाल | 2018 Dec 21 | 01:46 pm 2413

मैले बुझेको राजनीतिको लक्ष्य भनेको जनतालाई गुणस्तरीय जीवन दिनु हो । जीवन गुणस्तरीय कसरी हुन्छ ? मानिसले खान लगाउन पाएर मात्रै, धन सम्पत्ति भएर मात्रै, आरामसँग बस्न पाएर मात्रै गुणस्तरीय जीवन हुँदैन । सुखी जीवन हुँदैन ।

शान्ति सुरक्षा बिना जीवन सुखी हुँदैन । भयबाट मुक्ति खुसी जीवनका लागि अनिवार्य आवश्यकता हो । स्वतन्त्रता विना जीवन सुखी हुन्न । स्वच्छ वातावरणको अभावमा जीवन सुखी हुँदैन । स्वस्थ्य शरीर रहेन भने जति धन सम्पत्ति भए पनि जीवन सुखी हुन्न । जनताको गुणस्तरीय जीवनलाई नै सही अर्थमा विकास र समृद्धि भनिन्छ । त्यस्तो विकास मानिसलाई केन्द्रमा राखेर गरिन्छ । समाजवाद त्यही हो ।

व्यक्ति मात्र बदलेर हुँदैन समाज पनि बदलिनुपर्छ, समाज बदल्दैमा तसर्थ समाज र समाजभित्रको व्यक्ति दुबै सँगसँगै बदलिनुपर्छ । अनि मात्र परिवर्तन सार रुपमा साकार हुन्छ भनेर लोकतान्त्रिक समाजवादले जोड दिँदै आएको छ । सनातनधर्मवादी र माक्र्सवादी दुबै चिन्तन एकाङ्गी भएको भनेर लोकतान्त्रिक समाजवादीले समग्रतावादी परिवर्तनमा जोड दिएको ।

विश्ववन्धुत्व र सर्वोदय दर्शनमा जोड दिएको । राज्यको पुनः संरचना भनेर राज्यको भौगोलिक र प्रशासनिक संरचनाको ढाँचा बदल्ने मात्र होइन राज्यको चरित्रको पुनः संरचना, राज्यको दमनकारी, अधिनायकवादी र सामन्ती चरित्रको अन्त्य गर्ने हो भनेर लोकतान्त्रिक समाजवादले भन्छ।

नेपाली काँग्रेसले लोकतान्त्रिक समाजवाद भन्ने गरेको जनताको चौतर्फी विकासका लागि हो । सामाजिक न्यायका लागि लड्ने, पछौटे समाज विकासको लागि लड्ने, दुर्गम र विकट क्षेत्रहरुमा पूर्वाधार पुर्याउन प्रयत्न गर्ने, गुणस्तरीय शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवा, रोजगारी र आम्दानीको प्रवन्ध प्रत्येक नागरिकका लासिग राज्यले गर्नुपर्छ भनेर लड्ने समाजवादको घोषित उद्देश्य हो । नेपाली काँग्रेसको उद्देश्य पनि यही हो ।

०४६ सालको परिवर्तन लगतै काँग्रेसले ग्रामीण स्वावलम्बनको कुरा उठायो । विकट क्षेत्रको विकासको कुरा उठायो र ग्रामीण विकासको लहर हिमाल, पहाड र तराईका सीमान्त गाउँहरुसम्म पुग्यो । आज सबै दूरदराजहरुसम्म पूर्वाधारहरुलाई सुदृढ गराउँदै गाउँहरुमै आम्दानी र रोजगारीको अवस्था कसरी सिर्जना गर्ने ? गाउँमै बसोबास कसरी बनाउने ? यही उद्देश्यमा काँग्रेस समर्पित छ ।

काँग्रेसको समाजवाद भनेर मुठिभर व्यक्तिहरुको एस आरामाका लागि होइन । आम नागरिकको गुणस्तरीय जीवनका लागि हो । लोकतान्त्रिक समाजवादको सन्देश पनि यही नै हो । तर, विकासका साथसाथै देशमा चुनौतीहरु पनि देखा परेका छन् । विकासको सहउत्पादनको रुपमा आएका चुनौतीहरुलाई काँग्रेसले सम्बोधन गर्न ठोस योजना प्रस्तुत गर्नु आवश्यक रहेको छ ।

उदाहरणका लागि उदार अर्थनीति लिएर एकातिर निजी उद्योगहरुलाई चाहिंदो प्रोत्साहन दिँदादिँदै पनि सेवामूलक, केही आधारभूत उद्योग जस्तै कृषि औजार कारखाना, सेवामूलक संस्थान, दुग्ध संस्थान, कृषि सामाग्री संस्थान तथा जनतालाई महंगीको मारबाट बचाउनका लागि बजारमा हस्तक्षेप गर्नुपर्ने खाद्य संस्थान, अत्यावश्यकीय सेवा, इन्धन संस्थान र विद्युत कर्पोरेशन जस्ता संस्थाहरु सरकारकै नियन्त्रणमा चलाउने ।

शिक्षा नीतिमा सुधार ल्याई सहकारी तहबाटै गुणस्तरीय शिक्षा र गुणस्तरीय स्वस्थ्य सेवा जनतालाई उपलब्ध गराउने । किसान, मजदुर र उत्पीडनमा परेका अकिञ्चन जनताका लागि राज्यले समाजिक सुरक्षाको लागि दरिलो व्यवस्था गर्ने । यी सबै कुरा गर्दा जनताको नागरिक स्वतन्त्रतामा कही कतै आच आउन नदिने । नीजि क्षेत्रसँग राज्यले सहज सहकार्य गर्ने सयंन्त्र अनुगमन पद्धति दरिलो पार्न राज्य सदा सक्रिय रहने ।

हिजोको दिनमा असमानता जमिनमा पहुँच हुने र नहुनेको बीचमा गुणस्तरीय शिक्षामा पहँुच हुने र नहुने बीच छ । गुणस्तरीय शिक्षा प्राप्त गर्ने नागरिक र काजोर शैक्षिक स्तर भएका नागरिक दुई चरी नागरिकको विभेदपूर्ण स्थिति छ । यो भेदलाई म्टेनु नै आजको समाजवादको चुनौती हो ।

यिनै सन्दर्भमा वर्तमान नेपालमा राज्य संयन्त्र जस्तै शैक्षिक संस्थाहरु (विश्वविद्यालय समेत) न्यायालय, सुरक्षा निकाय, भष्ट्राचार नियन्त्रण निकाय तथा नोकरशाही यी सबै या त राजनीतिकृत भएका छन् वा भावनाहिन अवस्थामा छन् । राज्यसंयन्त्रका सबै संस्थाहरुको सुधार आवश्यक रहेको छ र त्यसका लागि काँग्रेसले संकल्प सहित सुधार गर्ने घोषणा गर्नुपर्दछ ।

श्रमको सम्मान गर्ने संस्कृति

श्रमको सम्मान गर्ने संस्कृतिले समानतामूलक र उद्यमीशील समाज निर्माणमा योगदान दिन्छ । परिवारमा, समाजमा र राष्ट्रमा बराबरीको भावना अभिबृद्धि गर्छ । भेदभाव र सामन्ती संस्कारलाई अन्त गर्छ । लोकतन्त्र साकार हुन्छ ।

श्रमको सम्मन गर्ने संस्कृति भनेकै समानताको संस्कृति हो । यसले हाम्रा किसान, मजदुर, महिला, दलित, जनजाति र अल्पसंख्यक सबै सम्मनित हुन्छन् । श्रमलाई हेला गर्ने प्रवत्तिले हामीलाई अल्छी र रोगी मात्र बनाएको छैन, हाम्रो जमीन जंगल र नदीनाला लगायत अथाह प्रकृतिक सम्पदाको उपयोग एकातिर हुन नसक्ने र अर्कोतिर हाम्रो असंख्य जनशक्ति विदेशतिर भौतारिने अवस्था पैदा भएको छ ।

श्रमलाई हेर्ने नेपाली सँस्कृति परम्परागत रुपमै नकारात्मक छ । यही संस्कृतिले हामीलाई अल्छी बनाएको छ, अनुत्पादन र रोगी बनाएको छ । राष्ट्रलाई उद्यमशीलता विमुख बनाएको छ । श्रमप्रति सम्मान भाव राख्नाले हामीलाई मानसिक र शारीरिक रुपले स्वस्थ्य राख्दछ र हामी समृद्ध राष्ट्र बनाउन सक्छौं । नेपाली काँग्रेसले हलो जोतेर, मजदुर हड्ताल गरेर क्रान्ति शुरुवात गरेको हो ।

त्यसको मर्म श्रमको सम्मान हो भन्ने हामीले बुझ्नुपर्छ र काँग्रेसजनहरुले श्रमप्रति सम्मान भाव राख्नुपर्छ । यसैमा पार्टीको प्रगति र राष्ट्रको उन्नति निर्भर गर्दछ । जहाँ श्रम सम्मानित हुन्छ त्यहाँ हरेक वर्ग, वर्ण, क्षेत्र, तह र तप्काका व्यक्तिहरु सम्मानित हुन्छन् ।

राष्ट्रमा समानता मर्यादित हुन्छ । सुख भनेको काम नगरी खानु भन्ने होइन । सुख भनेको उचित श्रम, उचित विश्राम र उचित आहारबाट मात्र प्राप्त हुन्छ । काँग्रेसले यही कुरालाई समाजमा अघि बढाउने र नयाँ संस्कारको विकास गर्ने । (रामचन्द्र पौडेलद्वारा लिखित)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.