काठमाडौँ, पुस ५ : नेपाली कांग्रेसको जारी महसमिति बैठकको बिहीबार बिहान ९ बजे बस्ने भनिएको बन्द सत्र अझै सुरु हुन सकेको छैन । विधान मस्यौदामा सहमति जुट्न नसक्दा बैठक सुरु हुन नसकेको हो ।
यसअघि विधानमा सहमति जुटेको भनिए पनि केन्द्रीय समितिमा विवाद उठेपछि बैठक फेरि स्थगित भएको हो । बिहान सभापति शेरबहादुर देउवाले आफ्नो समूहसँग पार्टी कार्यालयमा छलफल गरेका थिए । संस्थापन पक्षीय सदस्यहरूकै कारण मङ्गलवार भएको सहमति उल्टिएको थियाे । उनीहरूले उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा एक/एक पद समावेशी बनाउनुपर्ने भन्दै सहमति अस्वीकार गरेका थिए ।
मङ्गलवार राति सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला सहित पदाधिकारी, पूर्व पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरुबीच पदाधिकारी र त्यसको निर्वाचन पद्धतिको विषय टुंगाईएको थियो ।
यसअघि सिंहदरबारस्थित पार्टी प्यालेसमा बसेको बैठक आज भने पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तयारी थियो ।