वासिङ्टन, पुस ५ :नेपालमा पूर्वप्रधानमन्त्रीहरुले ‘सुविधा कम भयो’ भनेर गुनासो गरेको धेरै समय बितेको छैन । त्यसो त उनीहरुको जीवनशैली आम नेपालीको भन्दा अस्वभाविक र अनपेक्षित नै देखिन्छ ।

विश्वशक्ति भनिने अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा भने क्रिसमसको अवसरमा उपहारकाे पाेको बोकेर बालबालिकालाई भेट्न अस्पताल पुगेका छन् । बुधबार बालबालिकालाई उपहार बाढ्न बासिंटन डीसीस्थित चिल्ड्रेन्स नेशनल अस्पतालमा पुगेका हुन् । वासिङ्टनको उत्तरपश्चिम क्षेत्रस्थित एउटा राष्ट्रिय बाल अस्पतालमा पुगेर ओबामाले बिरामी बालबालिकालाई क्रिसमसको उपहार बाँडे ।

‘सान्ता क्लज’ क्रिसमसमा लगाइने रातो टोपी लगाएर उनले अचानक उपहारको थैलो नै बोकेर अस्पताल पुगेका उनले बालबालिकालाई ‘सर्पाइज’ नै दिएका थिए । खेलौना लगायतका उपहार बोकेर ओबामा अस्पताल पुगेको अनौठो भिडियोबारे वासिङ्टन पोष्टले समाचार नै बनाएको छ ।

ओबामाले प्रत्येक बालबालिका र उनका अभिभावकलाई भेटेरै क्रिसमस टोपी समेत प्रत्येक बालबालिकालाई वितरण गरेका थिए । अस्पताल छोड्नुअघि ओबामाले अस्पतालका कर्मचारीहरुलाई बिदामा पनि काम गरेकोमा धन्यवाद दिएका थिए ।
ओबामा यसरी अस्पताल पुग्ने कुरा यहाँका कर्मचारीलाई मात्रै जानकारी थियो । तर ९० मिनेटको उनको अस्पताल भ्रमण त्यस अवधिमै भाइरल बनेको थियो । ओबामाले बालबालिकालाई भेटेर उपहार दिँदै ‘भिडियो म्यासेज’ समेत सार्वजनिक गरेका छन् ।
