नेपालमा मात्र होइन विश्वमा नै कम्युनिस्टहरुले प्रजातान्त्रको सुविधा उपयोग गरेर प्रजातन्त्रकै मर्ममा प्रहार गर्दै आएका छन् । नेपालमा त्यस प्रवृत्तीको अत्यधिक प्रयोग भएको छ । यहाँका कम्युनिस्टको प्रचलित नारा नै छ–‘ढाडमा टेकेर टाउकोमा हान्ने’ । आज त्यही कुरा यति लामो प्रयासबाट स्थापित नागरिक स्वतन्त्रता र बहुदलीय संसदीय लोकतान्त्रिक प्रणालीका लागि खतराको विषय बनेको छ ।
अहिलेका सत्ताधारीहरु हिजोका आफ्ना सबै प्रतिबद्धता र मान्यतालाई धरौटी राखेर जसरी हुन्छ दुई तिहाई बढी बहुमत जुटाउनतिर लागेको देखियो । किन खोजिदैछ दुई तिहाई मत ? आरामदायी बहुमत छँदै थियो ? संविधानलाई आफ्नो अनुकुल फेरबदल गर्न, संवैधानिक निकाय जस्तै अदालत, अख्तियार, निर्वाचन आयोग आदिलाई आफ्नो इसारामा नचाउन दुई तिहाई चाहिएको होला ।
यसमा सर्वसत्तावादको गन्ध आउँछ । अहिलेको सत्ता गठबन्धन प्राकृतिक हो कि अप्राकृतिक ? कुन अभिष्टका लागि यसो गरिएको छ ? दुई तिहाईको खोजी भनेको सहज रुपले सत्ता चलाउने उपायको खोजी मात्र नभई देशको संविधान र संवैधानिक निकायलाई आफू अनुकूल प्रयोग गर्ने र चलाउने अभिलाषाको द्योतक हुनसक्ने सम्भावनाप्रति काँग्रेस सजग हुनुपर्छ ।

हालै केही स्वतन्त्र हैसियतमा हुनुपर्ने र विभिन्न मन्त्रलय र विभाग अन्तर्गतको निकायहरुलाई प्रधानमन्त्री मातहत लगिएको छ । यस्तो केन्द्रीयताले स्वतन्त्र निकायलाई कमजोर बनाउने छ । यसमा पूर्णसत्ताको अभिलाष प्रष्ट देखिन्छ । यहाँनेर एउटा भनाई पनि छ “सत्ताले मानिसलाई भ्रष्ट बनाउँछ, पूर्णसत्ताले सम्पूर्ण रुपमै भ्रष्ट बनाउँछ ।” वर्तमान सत्ता त्यतै जान खोजेको त होइन ? काँग्रेसले यो प्रवृत्तीबाट देशलाई जोगाउने नैतिक शक्ति राख्नुपर्छ ।
पक्षपात कम्युनिस्ट चरित्र हो । यो सरकाले राज्यमा पक्षपातको सुरुवात गरिसकेको छ । योजना निर्माण, राज्यको साधनस्रोत वितरण, विकास अभियान, न्याय सम्पादनमा, प्रशासन लगायत हर क्षेत्रमा पक्षपातको बोलबोलाको शुरुवात भएको छ । काँग्रेसलगायत आफू इतरकालाई कतै ढिम्किन नदेउ भनेर यो सरकारले घोर पक्षपात शुरु गरेको छ । त्यस्तो पक्षपातविरुद्ध काँग्रेसले सशक्त आवाज उठाउनुपर्ने भएको छ । समानता विरोधी चरित्र परास्त गर्न आमजनताको साथमा काँग्रेस रहनुपर्छ ।
केन्द्रीकरण कम्युनिस्ट धर्म र नीति हो । यो सरकारले संविधानले प्रदेश र स्थानीय तहलाई दिएका अधिकारहरुसमेत केन्द्रमै खिचेर आर्थिक स्रोत र प्रशासननिक शक्तिको स्वेच्छाचारी प्रयोग गर्ने छनक देखाएको छ । त्यसविरुद्ध काँग्रेसले स्थानीय निकाय तथा जनतालाई सुसूचित गर्दै सशक्त बनाउन वैचारिक आन्दोलन उठाउनुपर्छ । तल्लोभन्दा तल्लो तहमा रहेको जनताका अधिकार, सुविधा र सशक्तीकरणका लागि क्रियाशील रहनुपर्दछ ।
कम्युनिस्ट सम्पूर्ण राज्य संयन्त्र कब्जा गर्ने मात्र होइन सम्पूर्ण सामाजिक संयन्त्र नै नियन्त्रणमा राख्ने प्रयास गर्नेछन्, त्यसका निम्ति राज्यका स्रोत र साधनको दुरुपयोग गर्दैछन् । त्यसकाविरुद्ध सजग भएर सक्रियता बढाएर जनताको संघर्षलाई काँग्रेस पार्टीले साथ दिनुपर्छ ।
समानताको सबभन्दा चर्को नारा लगाउँदै आएका तर आफ्नो दलका कार्यकर्ताको मात्र भरणपोषण गर्दै राज्यमा ‘नयाँवर्ग’को हालीमुहाली गराउने काम यने सत्ताले गरेको छ । त्यसविरुद्ध प्रबल जनमत निर्माण गरेर जनतालाई जगाउँने र साथमा लिने काम काँग्रेसजनले गर्नुपर्नेछ । नेपालको संविधानको मूल मर्म शक्ति पृथकीकरणको सिद्धान्तविरुद्ध कम्युनिस्ट सरकार (कार्यपालिका) ले न्यायपालिकामाथि खेदजनक हस्तक्षेपको अभ्यास गर्याे । यतिमात्र होइन प्रशासनिक संयन्त्रलाई राजनीतिकरण गर्नु, आस्थाका आधारमा कर्मचारीहरुलाई पुरस्कृत र दण्डीत गर्ने धृष्टता अहिलेको कम्युनिस्ट सरकारले शुरु गरेको छ । यस प्रकारको पूर्वाग्रही नियतले मुलुक समृद्धितर्फ नबढी आन्तरिक द्वन्द्वको भूमरीमा पर्न सक्छ ।
यसै सन्दर्भमा ठूलो बलिदान, ठूलो बहस र छलफल पश्चात् टुंगो लागिसकेको शासन व्यवस्थाको विषयलाई यी कम्युनिस्टहरुबाट पुनः प्रश्न उठाउने धृष्टता भएको छ । स्थायित्व र समृद्धिको नारा दिएर सरकारमा आएको कम्युनिस्ट पार्टीले किन “प्रत्यक्ष राष्ट्रपति प्रणालीको” नाममा देशमा फेरि राजनीतिक विवादको थालनी गर्न लागेका हुन् ? हामीले जनतालाई यसबारे जानकारी गराउन पर्दछ । साथै कानुनी राज्यको मूल्य र मान्यता विपरितका गैह्रसंवैधानिक तथा अधिनायकवादी क्रियाकलापको हामीले कठोरताका साथ विरोध गर्नुपर्दछ ।(रामचन्द्र पाैडेलद्वारा लिखित)