पर्वत, पुस २ : पर्यटकिय नगरी पोखराबाट नजिकै रहेको पर्वतको फलेबास नगरपालिकाले चिडियाखाना बनाउने भएको छ । नगरपालिकाले नगर विकासको दीर्घकालीन योजना बनाएर डहरे क्षेत्रमा खुला चिडियाखानाको अवधारणा ल्याएको हो ।
उक्त क्षेत्र समुद्री सतहबाट दुई हजार २ सय ५९ मिटरको उचाइमा रहेको डहरेदेउरालीलाई चिडियाखाना बनाउन नगरपालिकाले यसै वर्षदेखि नै बजेटको व्यवस्था गरिएको नगरप्रमुख पदमपाणि शर्मा जनाए ।
उनका अनुसार तारबारले घेरिएका चिडियाखाना हामीले जहाँकहीँ देखेका तर, यस ठाउँमा भने वन्यजन्तुलाई खुलारूपमा संरक्षण गरेर अवलोकन गर्नसक्ने चिडियाखाना बनाएको र यो मुलुकमै पहिलो भएको शर्माले बताए।
सो क्षेत्र स्याङ्जाको केही भागसँग जोडिएको डहरेमा फलेबास नगरपालिकाको १, २ र ९ वडामा फैलिएको घना जङ्गल छ । स्थानीय रुपमा पाइने डहरेलेकमा कालो भालु, चितुवा, मृग, ब्वाँसोलगायत जङ्गली जनावरको बसोबास छ । त्यस्तै पंक्षीमा कालिज, लामपुच्छ्रे, लुइँचे, तित्रा, ढुकुरलगायत धेरै किसिमका चराचुरुङ्गी पाइन्छन्।
वन्यजन्तु संरक्षण, वन क्षेत्र संरक्षण, प्याराग्लाइडिङ उडान, डहरेदेउराली मन्दिरको प्रवर्धनलगायतका कार्यक्रम सञ्चालन गर्ने योजना नगरपालिकाको छ ।
यसै क्षेत्रलाई समेटेर ‘मनमोहन शान्ति बाटिका’ निर्माणको काम शुरु गरिरहेको छ । डहरे क्षेत्रबाट नै प्याराग्लाइडिङ उडान गर्ने गरी सम्भाव्यता अध्ययनसमेत भइरहेको प्रमुख प्रशासकीय अधिकृत मोतीराम सापकोटाले बताए ।
मगर समुदायको बाहुल्य रहेको खुममा आन्तरिक पर्यटक बढिरहेका छन् । डहरे पुग्न नेपालकै पहिलो घरबास गाउँ स्याङ्जाको सिरुबारीबाट दुई घण्टा पैदलयात्रापछि पुग्न सकिन्छ ।