प्रतिस्पर्धाबिनै राष्ट्रपतिलाई डेढ अर्बको हेलिकप्टर खरिद

| 2018 Dec 17 | 08:24 am 2130

काठमाडौं, पुस २ : सरकारले राष्ट्रपतिका लागि मात्र उडान गर्न १ अर्ब ५० करोड रुपैयाँमा हेलिकप्टर खरिद गरेको छ। नेपाली सेनाले इटालीमा बनेको १४ सिट क्षमताको अगुस्टा–वेस्टल्यान्ड–एडब्लू–१३९’ हेलिकप्टर खरिद गरेको हो।

उक्त हेलिकप्टर सेनाको हवाई उड्डयन निर्देशनालयले सञ्चालन गर्नेछ। हेलिकप्टर भीभीआईपीको उडानका लागि चौबिसै घण्टा तयारी अवस्थामा (स्ट्यान्डबाई) राखिनेछ।

दुई साताअघि मुलुकमा आइसकेको उक्त हेलिकप्टर अझै केही दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिनेछ। खरिद सम्झौताअनुसार आए/नआएको अध्ययन गरेपछि उक्त हेलिकप्टर सेनाको हवाई उड्डयन निर्देशनालयले बुझेर आफ्ना अरू हेलिकप्टरसँगै राख्नेछ।

सेनाले खुला प्रतिस्पर्धाको प्रक्रिया नअपनाई सोझै इटालीको उत्पादक कम्पनीसँग वार्ताका माध्यमबाट खरिद सम्झौता गरी हेलिकप्टर किनेको हो। पञ्चायतकाल र बहुदलकालमा तत्कालीन राजाका लागि मात्र उडान गर्ने ‘सुपरपुमा’ हेलिकप्टर थियो।

उक्त हेलिकप्टरसमेत सेनाले सञ्चालन गथ्र्यो। यो नयाँ हेलिकप्टर सुपरपुमाजस्तै भीभीआईपीको उडानमा मात्र प्रयोग हुनेछ। सुपरपुमा थोत्रो भइसकेकाले भीभीआईपी उडानका लागि अर्को सुविधासम्पन्न हेलिकप्टर खरिद गर्नुपरेको जानकारी सैनिक स्रोतले दिएको छ।

सरकारले नेपाली सेनामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीको कारकेडका लागि १४ करोड रुपैयाँमा विलासी गाडी खरिद प्रक्रिया पनि अघि बढाएको छ। राष्ट्रपतिका लागि मात्रै होइन, सुरक्षाका अगुवा र पछुवा गाडीसमेत खरिद गर्न लागिएकाले १४ करोड रुपैयाँ लाग्ने जानकारी स्रोतले दिएको छ।

संवैधानिक राष्ट्रपतिका लागि त्यति महँगो गाडी खरिद प्रक्रिया अघि बढाइएकोमा चर्को आलोचना भइरहेका बेला सरकारले भीभीआईपीकै लागि भन्दै हेलिकप्टर किनेको हो।

नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले भीभीआईपी उडान गर्न हेलिकप्टर खरिद गरिएको जानकारी दिए। ‘मन्त्रिपरिषदको निर्णयअनुसार भीभीआईपी उडानका लागि अगुस्टा हेलिकप्टर खरिद गरिएको छ,’ भण्डारीले भने, ‘राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको उडान गर्न हेलिकप्टर ल्याइएको हो। हेलिकप्टर आइसकेको छ। खरिद सम्झौताअनुसार आए/नआएको अध्ययन भइरहेको छ।’ अध्ययनबाट खरिद सम्झौताअनुसारको पाइएमा सेनाले उक्त हेलिकप्टर बुझेर लिएर भीभीआईपी उडानका लागि सञ्चालनमा ल्याउने छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.