परराष्ट्रमन्त्री भाेलि अमेरिका भ्रमणमा जाँदै

रिपोर्ट नेपाल | 2018 Dec 16 | 04:00 pm 1645

काठमाडौँ, पुस १ :  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही पुस २ गते बिहान संयुक्त राज्य अमेरिकाको भ्रमणमा जाने भएका छन् ।उनले अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोसँग पुस ३ गते वासिङ्टन डिसीमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा मन्त्री ज्ञवालीले राष्ट्रपति कार्यालय, अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) र मिलेनियम च्यालेञ्ज कर्पोरेशनका उच्च अधिकारीसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्नेछन्।

पुस ३ गते नै परराष्ट्र सचिव शङ्करदास वैरागीले अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यएशिया मामिलासम्बन्धी प्रमुख उपसहायक सचिव एलाइस जी वेल्ससँग परामर्श बैठक गर्ने कार्यक्रम छ ।

सचिव वैरागीले नेतृत्व गर्ने परामर्श बैठकका सदस्यमा अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, अर्थ र गृह मन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालय र वासिङ्टन डिसीस्थित नेपाली दूतावासका अधिकारी हुनुहुन्छ ।

मन्त्री ज्ञवाली पुस ६ गते शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.