खरिदारदेखि उपसचिवसम्म १४ हजार पदमा लोकसेवा खुल्दै

| 2018 Dec 16 | 08:27 am 1617

काठमाडौं, पुस १ : सरकारले कर्मचारी समायोजनलगत्तै कम्तीमा १४ हजार पदमा लोकसेवा खुलाउने गरी विशेष कार्ययोजना तयार पारेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विशेष कार्ययोजनामा फास्ट ट्र्याकमार्फत सबै सेवा समूहका १४ हजार पदमा विज्ञापन गर्ने गृहकार्य अघि बढाएको हो।

सो विशेष कार्ययोजनाअन्तर्गत सरकारले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनलगत्तै तिनै तहमा पदअनुसार रिक्त दरबन्दीको प्रक्षेपण गर्नेछ । माघको दोस्रो सातासम्म समायोजनको सबै प्रक्रिया सक्ने तयारी गरेको सरकारले माघको अन्तिम सातासम्म ठूलो संख्यामा लोकसेवा खुलाउने गरी कार्ययोजना अन्तिम चरणमा पुर्‍याएको हो । सो कार्ययोजनाअनुसार प्रशासन, स्वास्थ्य, इन्जिनियरिङ, कृषि तथा वन, लेखापरीक्षणलगायत सबै सेवा समूहमा खरिदारदेखि सहसचिव स्तरसम्ममा नै लोकसेवा खुल्ने निश्चित भएको हो।

सरकारले तीनै तहमा रिक्त दरबन्दीको प्रक्षेपण गर्दा तत्काल सबै सेवा समूहका कम्तीमा १४ हजार दरबन्दी रिक्त हुन सक्ने आँकलन भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले जानकारी दिए । सो प्रक्षेपणअनुसार माघ मसान्तसम्म १४ हजार पदमा लोकसेवा खुलाउने गरी कार्ययोजना तयार पारिएको सचिव थपलियाले बताए ।

केन्द्रीय सरकारले रिक्त कर्मचारी दरबन्दीको प्रक्षेपण गर्दा समायोजनपछि संघ, प्रदेश र स्थानीय तहमा आवश्यक पर्ने दरबन्दीको छुट्टाछुट्टै प्रारूप तयार पार्नेछ । यसका लागि संघ, प्रदेश र स्थानीय तहको स्वीकृत दरबन्दी र समायोजन भएर जाने सम्भावित दरबन्दीको विश्लेषण गरी रिक्त हुने दरबन्दीको प्रक्षेपण गरिने सचिव थपलियाले बताए।

सामान्य प्रशासन मन्त्रालयका अनुुसार हाल प्रदेश लोकसेवा आयोग गठन नभइसकेकाले एकपटकका लागि केन्द्रीय लोकसेवा आयोगले नै संघ, प्रदेश र स्थानीय तहमा आवश्यक पर्ने कर्मचारीको पदपूर्ति गर्ने गरी व्यवस्था मिलाइनेछ । जसअनुसार लोकसेवाले जुनजुन तहमा कर्मचारी आवश्यक पर्ने हो सोही तहकै लागि निक्र्योल गरी विज्ञापन प्रकाशन गर्नेछ । फरकफरक तहकै लागि परीक्षा लिएपछि लोकसेवाले जुन तहका लागि परीक्षा लिएको हो सोही तहमै कर्मचारीलाई नियुक्तिका लागि सिफारिस गर्ने व्यवस्था मिलाइनेछ।

संघीय मामिला मन्त्रालयले कर्मचारी समायोजनलगत्तै देशभरका ७५३ वटै स्थानीय तह र सातवटै प्रदेशसँग रिक्त दरबन्दीको विवरण माग्नेछ । सोही विवरण आएपछि रिक्त पदमा पदपूर्तिका लागि लोकसेवामा माग पठाइनेछ । त्यसरी माग पठाउँदा सँगै संघमा रिक्त हुने पदको पदपूर्तिको समेत व्यवस्था गरिनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.