पुसमा सांसद्‍लाई निम्तो दिएका ओलीको पानीजहाज खै ?

| 2018 Dec 16 | 08:23 am 2085

काठमाडौं, पुस १: चालू आर्थिक वर्षको बजेटमा कर्णाली, गण्डकी र कोसीमा पानीजहाज सञ्चालनको अध्ययन गर्ने योजना छ । प्रधानमन्त्रीले त संसद्मा बोल्दै पुससम्म स्टिमर चल्ने घोषणा गर्दै सांसदहरूलाई निम्तासमेत दिएका थिए।

तर, विडम्बना हालसम्म नेपालले जलमार्ग सञ्चालन गरिने भनिएका नदीको स्थलगत अध्ययनसमेत गरेको छैन। नेपालमा पानीजहाज सञ्चालनको अध्ययन गर्न बनेको ‘इनल्यान्ड वाटर वेज’ (आन्तरिक जलमार्ग) अध्ययन समितिका प्रतिनिधि हालसम्म पनि तीन नदीको भ्रमणमा गएका छैनन्।

प्रधानमन्त्रीको घोषणालाई आधार मान्ने हो भने यतिवेला नेपालका नदीमा जलमार्ग सञ्चालनका लागि संरचना निर्माण भइसकेको हुनुपर्ने हो, तर हालसम्म यसका लागि न कानुन बनेको छ, न संरचना बनेको छ, न त पूर्वाधार निर्माण नै भएको छ। केवल अध्ययन समितिले अध्ययन र अवलोकन गर्ने काम मात्रै गरेको छ।

आगामी जनवरीमा भारतीय टोली नेपालमा जगलमार्ग सञ्चालनको विषयमा थप छलफल गर्न आउँदै छ। सम्भवतः जनवरी ७ मा भारतीय टोली आउने र त्यसवेला वार्ता हुनेछ। काठमाडौंमा हुने वार्ताले नेपाल–भारत जलमार्ग निर्माण तथा सञ्चालनको एउटा खाका तयार पार्ने बेल्वासेले बताए। ‘वार्तामा भारतीय पक्षले सम्भाव्यता अध्ययन नेपाललाई पनि दिनेछ,’ उनले भने, ‘त्यसपछि कसरी अघि बढ्ने भन्ने मोटामोटी बाटो तय हुनेछ।’ भारतीय पक्ष नेपाल आएपछि नारायणी र कोसीको स्थलगत अध्ययनसमेत गरिने उनले जानकारी दिए।

बजेटमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री केपी ओलीले १५ असारमा भनेका थिए, ‘पानीजहाजको कुरा गर्दा बाल्टीमा पानी राखेर डुंगा चलाउँदै उडाएका छन्, अब हिँड्दाहिँड्दै हनुमाननगरबाट पानीजहाज चल्छ । दुई वर्षअघि म प्रधानमन्त्री हुँदा नै बोलेको हुँ । सन् २०१८ सम्म भ्याइएन भने ठीकै छ, सन् २०१९ को पुस १६ लाग्ला। तर, स्टिमर चढेर कोलकातासम्म जान निम्ता छ साथीहरूलाई।’

समितिका संयोजक तथा जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्वासे भन्छन्, ‘नेपालमा जलमार्ग सञ्चालन हुन्छ, तर कहिले भन्न सकिन्न।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.