कांग्रेस महासमिति बैठकको शुभारम्भ, पार्टी सुधार्न बृहत छलफल गरिने

| 2018 Dec 15 | 02:16 pm 1468

्कानठमाडौं, मंसिर २९ : नेपाली कांग्रेसले संघीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठकको उद्घाटन भएको छ। पार्टी सभापति शेरबहादुर देउवाले सिंहदरबार अगाडिको यगम्बर पार्टी प्यालेसमा महासमिति बैठकको उद्घाटन गरेका हुन्।

बैठकका तयारीका लागि शुक्रबार केन्द्रीय कार्यालयमा महासमिति सदस्यको नामावली दर्ता भएको थियो। बैठक आगामी पुस ३ गतेसम्म चल्ने छ । बैठकमा पार्टी प्रवक्ता विश्‍वप्रकाश शर्माले स्वागत मन्तव्य राखेका थिए। प्रवक्ता शर्माले बैठकमा यसअघिका २४० निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, पार्टीको केन्द्रीय समिति, भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनीत महासमिति सदस्य, निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी झण्डै एक हजार ६०० प्रतिनिधि सहभागी सबैलार्इ स्वागत गरेका हुन्।

उद्घाटनलगत्तै शुरु हुने बन्दशत्रमा पार्टीको केन्द्रीय समितिमा प्रस्तुत भई छलफल भएका विभिन्‍न पाँच विषयका दस्तावेज पेश हुनेछन्। बैठकमा उपसभापति विमलेन्द्र निधिले राजनीतिक, महामन्त्री डा शशांक कोइरालाले साङ्गठनिक, महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन, सहमहामन्त्री डा प्रकाशशरण महतले समग्र आर्थिक नीति र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन पेश गर्नेछन् ।

विधान मस्यौदाबाहेक सबै प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकले परिमार्जनसहित पारित गरिसकेको छ भने विधान मस्यौदामा पदाधिकारी सङ्ख्या र पदाधिकारीको निर्वाचनबारे बहस जारी छ। महासमिति बैठकमा उक्त प्रतिवेदन छलफल गर्न महासमिति सदस्यलाई प्रदेशस्तरीय रुपमा सात समूहमा विभाजन गरिने प्रवक्ता शर्माले बताए । त्यसपछि पुस १, २ र ३ गते बिहान ८ देखि बेलुकी ५ बजेसम्म बन्द सत्र चल्नेछ ।

महासमितिले एउटा महाधिवेशन समाप्त भई अर्को महाविधेशन प्रारम्भ नहुँदाको अवस्थामा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचनबाहेक महाधिवेशनको सबै कार्य गर्ने पार्टी विधानमा उल्लेख छ ।

त्यस्तै विधानको दफा २० मा महासमितिको साधारण बैठक प्रत्येक एक वर्षमा एक पटक हुने उल्लेख भए पनि २०७२ सालमा सम्पन्न पार्टीको १३ औँ महाधिवेशनपछि हुन लागेको यो पहिलो महासमिति बैठक हो । विधानअनुसार महाधिवेशन हुने वर्षमा भने महासमितिको बैठक हुँदैन ।

कांग्रेसकै नेृतत्वको सरकारमा जारी भएको नेपालको संविधान कार्यान्वयनका लागि कांग्रेसकै नेतृत्वको सरकारले गरेका प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पार्टीले नराम्रो पराजय भोगेपछिको अवस्थामा यो बैठक हुन लागेको छ । मुलुकका सबै ठूला राजनीतिक क्रान्तिको नेतृत्व गरेको कांग्रेसको यो महासमिति बैठकलाई सर्वत्र निकै चासो र महत्वका साथ हेरिएको छ । पार्टीको महाधिवेशन पछिको सर्वोच्च निकाय महासमिति बैठक भएकाले यसले पार्टीको नीतिगत सुधार र पार्टीलाई नयाँ ऊर्जावान् बनाउने कांग्रेसजनको अपेक्षा छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.