महासमिति बैठकमा गम्भीर छलफलको खाँचो

| 2018 Dec 15 | 06:53 am 2216

  • गोमा ढकाल (गोर्खा)

नेपालको लोकतान्त्रिक आन्दोलनको कमाण्ड गरेको सबै भन्दा पुरानो पार्टी नेपाली काँग्रेसको संसदको रुपमा रहेको महासमितिको बैठक मंसिर २९ गते शनिबार देखि काठमाडौंमा शुरु हुँदैछ ।

झण्डै पाँच बर्ष अघि नवलपरासी जिल्लाको त्रिवेणीधामस्थित मोक्षधाममा भएपछि हुन नसकेको महासमिति बैठक नेतृत्वको चाहाना हुँदा नहुँदै बल्लबल्ल हुन थालेको हो । नेपाली काँग्रेसलाई समयानुसार हिडाउन निर्देश गर्ने महासमिति बैठक हुनु आम काँग्रेसजनलाई खुसीको कुरा हो । आफूलाई सच्चा प्रजातन्त्रवादी भन्ने काँग्रेस पार्टी भित्र यस्ता बैठक नेतृत्वले प्राय गर्न खोजेको देखिदैन ।

स्वर्गीय गिरीजा प्रसाद कोइराला देखि सुशील कोइरालालाई पार्टीलाई आफू खुशी चलाएको भनेर तत्कालिन समयमा आरोप लगाउने वर्तमान सभापति शेरबहादुर देउवाको यो कार्यकालमा पनि विधानलाई मिचेर समयमा महासमिति बैठक गर्न नसकेको तितो सत्य आम काँग्रेसजनका अगाडी छदैछ ।

मुलुकमा संघिय गणतान्त्रिक संविधान जारी भएको यति समय वितिसक्दा पनि काँग्रेस जस्तो पार्टीले आजसम्म आफ्नो संगठनलाई संघिय ढाँचामा अगाडी बढाउनु नसक्नु दुर्भाग्यको कुरा हो । कम्युनिस्टलाई अधिनायकवादी र अप्रजातान्त्रिक भन्ने काँग्रेसले भन्दा उनीहरुले आफ्नो संगठनलाई एक कदम अगाडि बढेर संघिय ढाँचा अनुसार संगठन निर्माण गरिसकेका छन् ।

थुप्रै नेता कार्यकर्ताको तिब्र असन्तुष्टि र विरोधका कारण हुन लागेको यो महासमिति बैठक ऐतिहासिक र नेतृत्वलाई  निरंकुश होइन लोकतान्त्रिक विधिबाट चल्ने बनाउन कोशेढुङ्गा बनोस भन्ने शुभेच्छा यो पंतिकारले प्रकट गर्न चाहान्छु ।

राणा शासनदेखि तीस वर्षे पंचायत हुँदै राजा ज्ञानेन्द्रको निरंकुशतालाई जरैबाट फाल्न सक्ने काँग्रेसले यो महासमिति बैठकबाट पार्टी भित्रको निरंकुशता र अधिनायकवादलाई पनि समाप्त पार्न सक्नुपर्छ ।

२०४६ सालको परिवर्तन पश्चात् सबै भन्दा धरै समय सरकारमा रहेको नेपाली काँग्रेस गएको तीन वटै निर्वाचनमा सर्वनक किसिमले पराजय भोग्नुको कारण पनि देशभरबाट आएका महासमिति सदस्यले बन्द सत्रमा खोज्न जरुरी छ ।

सरकारमा बस्दा प्रधानमन्त्री, मन्त्रीले गरेको आफूखुसी गलत कृयाकलापका विषयमा र निर्वाचनमा पार्टीमा सधैं लागि परेका र चुनाव जित्न सक्नेलाई टिकट नदिए र आफ्ना वरिपरी धुम्ने गणेश प्रवृत्तीका मान्छेलाई पैसाको भरमा बाँडिएको टिकटले लेखाजोखा पनि यो महासमिति बैठकले गर्न जरुरी छ ।

पार्टी भित्रका साथीलाई वर्ग दुस्मन जस्तै देख्ने विपक्षी दलका मान्छेलाई एउटै आमाको सन्तान जस्तै सम्झने अन्तरघातीको पनि खोजिनीति यो बैठकले गरोस भन्ने आम काँग्रेसजनको माग रहेको छ ।

नेपाली काँग्रेस इतिहासमा सबै भन्दा कमजोर बनेको छ । कम्युनिष्ट नेतृत्वमा दुईतिहाई वहुमतको सरकार बनेको नौ महिना पुगी सकेको छ । यो अविधिमा सरकारले जनतालाई राहत दिने र मुलुकको हितका लागि केही गर्न सकेको छैन ।

जनताले तिरेको करको ढुकुटीबाट अनेक विवादित कार्य गरिरहँदा पनि काँग्रेस नेतृत्व मुखमा पानी हालेर बसेको छ । नेपाली काँग्रेसका युवा नेता चन्द्र भण्डारीले गएको हप्ता एक अन्तरवार्तामा भनेजस्तै प्रतिपक्ष दलको नेता सरकारको गलत कृयाकलापका विरुद्ध बोल्नु पर्नेमा मौन छन् भने प्रधानमन्त्री केपी शर्मा ओली झुठको पुलिन्दा बाँड्दै बोल्दै हिडेका छन् ।

स्वास्थ्यका कारण कम बोल्नुपर्ने ओली चाहिने भन्दा बढी बोल्दै हिडेका छन् भने जनताको आवाज बोल्नुपर्ने प्रतिपक्षका दलका नेता मौन व्रत रहेका छन् । यतिखेर विभिन्न गुट–उपगुटमा विभक्त काँग्रेस विपक्षीदलका विरुद्ध भन्दा आफ्नै दलका नेतालाई खुइलाउन लागेको देखिन्छ ।

रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमानसिंह,  अर्जुननरसिंह केसी लगाएत कोइराला परिवारका शेखर, सशांक र सुजताले आ–आफ्नै डम्फू बजाउँदै हिडेका छन् । पार्टीको नेतृत्व लिएका शेरबहादुर देउवा विधि विधानलाई भन्दा आफ्ना हनुमानको भनाई अनुसार अघि बढीरहेका छन् । यो महासमिति बैठकले आफू खुसी बोल्दै हिड्ने र आफूखुसी निर्णय गर्नेलाई पनि अंकुश लगाउनु पर्छ ।

नेपाली काँग्रेसलाई कुन गोरेटो र राजमार्गमा दौडाउने भनेर निर्देश गर्ने संविधान (विधान) का विषयमा व्यापक छलफल हुन जरुरी छ । लोकतान्त्रिक पार्टीको विधान सभापतिको कोटको खल्तीबाट नियुक्ति गर्ने हुनुहुदैन । पार्टीका सबै पदाधिकारी देशभरबाट आएका महाधिवेशन प्रतिनिधिको मतबाट चुनिने प्रावधान ल्याइनुपर्ने जरुरी छ ।

यस अघि कार्यकर्तासँग सम्बन्ध सुमधुर भएकालाई नभएर नेतृत्वलाई रिझाएकालाई नियुक्त गर्ने गलत परम्परालाई यो महासमिति बैठकले तोड्न सक्नुपर्छ । देशभरबाट आएका प्रतिनिधिले बन्द कोठामा बसेर षडयन्त्रात्मक र आफू आफूअनुकूल बनाएको हुन सक्ने विधानलाई खेस्रा खेस्रा केलाउनु पर्छ ।

बाहिर ठूला कुरा गर्ने नेताका अगाडि रुझेको बिरालो जस्तै बन्दै आएका काँग्रेसका महासमिति सदस्यले भोलीको काँग्रेस सक्षम सवल बनाउने कि नेताले बनाएको विधान नीतिलाई थपडी बजाएर बाहिरिने त्यो भने हेर्न बाँकी नै छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.