एकै पार्टीका दुई संसदीय दल, गुटबन्दीको दलदलमा पूर्व एमाले र माओवादी

रिपोर्ट नेपाल | 2018 Dec 14 | 10:21 am 2109

काठमाडौं, मंसिर २८ : तत्कालीन नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी केन्द्र) का बीच पार्टी एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) घोषणा भएको करिब सात महिना पुग्यो । तर, नेकपाको संसदीय दलको कार्यालय छुट्टाछुट्टै दुई ठाउँबाट सञ्चालन भइरहेको छ ।

सिंहदरबारस्थित नेकपाको संसदीय दलको कार्यालय तत्कालीन एमाले र माओवादी केन्द्रको संसदीय दल कार्यालयबाट सञ्चालन भइरहेको छ । दुई ठूला कम्युनिस्ट पार्टीबीच पार्टी एकता घोषणा भए पनि कार्यकर्ता तथा नेता पुरानै कार्यालयमा भेटघाट गर्ने गरेका छन् ।

नेकपा अध्यक्ष एवं संसदीय दलका नेता तथा प्र्रधानमन्त्री केपी शर्मा ओली संसदीय दलको कार्यालय जाँदैनन् । तर, आकलझुकल संसदीय दलको कार्यालय पुगे भने उनी एमालेको संसदीय दल कार्यालयमै पुग्ने गरेका छन् ।

यस्तै, अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि संसदीय दलको कार्यालय पुग्दैनन् । उनी पनि प्रधानमन्त्री ओलीजस्तै आकलझुकल पुगे भने माओवादी केन्द्रको संसदीय दल कार्यालयमै पुग्ने र त्यहीँ कार्यकर्ता तथा नेतासँग भेटघाट गर्ने गर्छन् ।

नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको कार्यकक्ष एमालेको संसदीय दलको कार्यालयमा छ । उनी नियमित कार्यालय पुग्ने र नेता कार्यकर्तासँग छलफल एवं भेटघाट त्यहीँबाट गर्ने गर्छन् ।

प्रमुख सचेतक रहेका देव गुरुङ माओवादी संसदीय दलको कार्यालयमा पुग्छन् । उनको कार्यकक्ष पनि उतै भएकाले उनी भेटघाट तथा छलफल माओवादी संसदीय दलको कार्यालयबाटै गर्छन् । नेकपा संसदीय दलका सचेतक शान्ता चौधरीको कार्यकक्ष एमालेको संसदीय दलको कार्यालयमा रहेको छ । उनी आफ्नो कार्यालयमा पुग्ने र त्यहीँबाट आफ्नो नियमित काम गर्ने गर्छिन् ।

राष्ट्रिय सभाका नेता दिनानाथ शर्माको कार्यकक्ष माओवादी संसदीय दलको कार्यालयमा रहेको छ । संसद् सचिवालयमा रहेको माओवादी संसदीय दलको कार्यालयबाट शर्माले दैनिक कार्य तथा भेटघाट गर्ने गरेका छन् ।

यस्तै, राष्ट्रिय सभाका सचेतक खिमलाल भट्टराई तत्कालीन एमालेका नेता हुन् । तर, उनको कार्यकक्ष एमाले संसदीय दलको कार्यालयमा नभई तत्कालीन माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा रहेको छ । उनले आफ्नो दैनिक कार्य माओवादी केन्द्रको संसदीय दलको कार्यालयबाट सञ्चालन गरिरहेका छन् ।

नेकपा संसदीय दलका उपनेता नेम्वाङले पार्टी एकता घोषणा भइसकेपछि एउटै संसदीय दलको कार्यालय बनाउने कार्य सुरु भइसकेको बताए । केही समय प्राविधिक कारणले छुट्टाछुट्टै ठाउँबाट संसदीय दलको कार्यालय सञ्चालन भए पनि अबको केही दिनभित्रैमा एकै ठाउँबाट सञ्चालन हुने उनले बताए ।

‘केही प्राविधिक कारणले मात्रै दुई ठाउँबाट संसदीय दलको कार्यालय सञ्चालन गर्नुपर्‍यो,’ उपनेता नेम्वाङले भने, ‘अब एकै ठाउँबाट संसदीय दलको कार्यालय सञ्चालन हुन्छ, तत्कालीन एमालेको संसदीय दलको कार्यालयबाटै नेकपाको संसदीय दलको कार्यालय सञ्चालन हुन्छ ।’

तत्कालीन एमाले संसदीय दलको कार्यालयमै सबै नेताको कार्यकक्ष बनाउने काम भइरहेको बताउँदै उनले केही दिनभित्रमा एउटै कार्यालयबाट दैनिक कार्य सञ्चालन हुने उनले बताए ।

तर, नेकपा संसदीय दलका प्र्र्रमुख सचेतक गुरुङले संसद् सचिवालयले एकै ठाउँमा कार्यालय सञ्चालनका लागि ठाउँ उपलब्ध नगराएकाले दुई अलग ठाउँबाट कार्यालय सञ्चालन गर्नुपरेको बताए ।

नेकपामा पछिल्लो समय गुटबन्दी बढ्दै गइरहेको छ । शीर्ष नेताहरुकै गुटबन्दीका कारण केन्द्रको गुट गाउँगाउँसम्म पुग्ने निश्चित भएको छ । पछिल्लो समयमा नेकपा सचिवालय बैठक बहिष्कार गरेका शीर्ष चार नेताको व्यवस्था भएसँगै पार्टीमा विवाद बढेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.