काठमाडौं, मंसिर २६ : गएको वर्षको मंसिर २ गते भएको ललितपुर गोदामचौरको सामुहिक बलात्कार घटनाका फरार तीन जनामध्ये दुई अभियुक्तलाई प्रहरीले आज समातेको छ ।
महानगरीय अपराध महाशाखाले ललितपुर गोदावरी नगरपालिका–१ गोदामचौरका २१ वर्षीय विशालध्वज कार्की र पवन कुँवरलाई बुधबार गोदावरीबाटै पक्राउ गरेको जनाइएको छ । महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहले उनीहरू दुबैलाई गोदावरीस्थित एक होटलमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको बताए ।
सामुहिक बलात्कार घटनाका अर्का अभियुक्त रघु सिलवालको खोजी भइरहेको सिंहले बताएका छन् । ललितपुर गोदावरी–१ गोदामचौरकी २२ वर्षीया विवाहित युवतीलाई सामुहिक बलात्कार गरेको अभियोगमा उनीहरू फरार थिए ।
युवतीलाई सामुहिक बलात्कार गरेको अभियोगमा तीनै जना पक्राउ परेका थिए । जिल्ला अदालत ललितपुरले पुस २६ गते पर्याप्त प्रमाण नभेटिएको भन्दै उनीहरूलाई साधारण तारेखमा छोडेको थियो ।