किन बढ्दैछ उदयपुरमा आपराधिक घटनामा बालकको संलग्‍न ?

रिपोर्ट नेपाल | 2018 Dec 11 | 02:28 pm 2178

उदयपुर, मंसिर २५ :  जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्याङ्कअनुसार चार महीना यतादेखि भएका जिल्लाका विभिन्‍न आपराधिक घटनामा १५ वर्ष मुनिका बालकनै संलग्‍न हुने गरेका छन् । उदयपुरमा वर्षेनी हुने विभिन्‍न आपराधिक क्रियाकलाप, बलात्कार, यौनहिंसा र चोरी जस्ता अधिकांशमा बालक नै संलग्‍न पाइएको छ ।

चार महीनाको अवधिभित्र भएका बालिका बलात्कारका सात घटना तथा यौन दुर्व्यवहार जस्ता घटनामा १५ वर्षसम्मका बालकको संलग्‍नता रहेको उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले जानकारी दिए। त्यस्तै बलात्कारको घटनामा पहिले १७ वर्ष भन्दा माथिका किशोर बढी संलग्‍न हुने गरे पनि अहिले १५ वर्ष मुनिका बालकको धेरै संलग्‍नता देखिएका इन्सेक उदयपुरका संयोजक भरत थापाले बताएका छन्। चार महीनाभित्र जिल्लामा २२ बालिका बलात्कृत भएको र यसमा १५ वर्षसम्म बालकको संलग्‍नता अत्यधिक मात्रा रहेकाे तथ्याङ्कले देखाएको छ ।

त्यसैगरी लागुऔषध दुर्व्यसन र प्रयोगकर्तामा गत वर्ष जिल्लामा बढी किशोर संलग्‍न हुने गरेकोमा अहिले १५ वर्ष मुनिका बालक धेरै संलग्‍न रहेको प्रहरी प्रमुख राईले जानकारी दिए ।

उदयपुरमा अपराध तथा लागुऔषध दुर्व्यसनमा बालबालिका फस्दै जानुमा अभिभावकले आफ्ना बालबालिकाको उचित रेखदेख नगरी लापबाही गरेकाले यस जिल्लामा बालबालिका बढी अपराधमा संलग्‍न हुन थालेको र आफ्नो जीवनलाई धरापमा पारिरहेको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताए ।

विभिन्‍न विश्लेषक तथा बुद्धिजीवीको धारणा अनुसार अभिभावकले गलत सङ्गतमा लागेका बालबालिकालाई बेवास्ता गर्नु, समाजका जिम्मेवार व्यक्ति पनि गैरजिम्मेवार बन्दै जानु र मोबाइल जस्ता प्रविधि बढी चलाउन दिनुले अहिले उदयपुरमा बालबालिका अपराधमा बढी संलग्‍न हुन थालेको जिज्ञासा राखेका छन् ।

यस विषयमा समयमा नै अभिभावक सचेत नबने जिल्लाका धेरै बालबालिकाको भविष्य गञ्‍जागोल हुने र आपराधिक क्रियाकलाप झनै बढ्दै जाने सरोकारवाला निकाय बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.