प्रतिफल आउने गरी काम भइरहेको छ : मन्त्री बाँस्कोटा

रिपोर्ट नेपाल | 2018 Dec 10 | 07:03 pm 1809

काठमाडौँ,  मंसिर २४ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिफल आउने गरी काम गर्नेतर्फ सरकार लागि परेको बताएका छन् ।

प्रेस काउन्सिल नेपालद्वारा यहाँ आज आयोजित ‘प्रेस काउन्सिल–सानीमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’ वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भने “जो कोही मान्छे आफ्नो ठाउँमा पुगेपछि मेरो बदनामी नै होस् भनेर कसैले पनि सोच्दैन, गर्दै जाँदा गल्ती पनि हुन्छन्, तर हामी कामको नतीजा आउनेतर्फ सचेत छौँ” ।

सरकारले नौ महीनाको अवधिमा गरेका कामहरुलाई अंश अंशमा हेर्नेभन्दा पनि ठिक्कैमा प्रतिफल खोेजेर केही पनि काम भएन भन्नु दुर्भाग्य हुने सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री बाँस्कोटाको भनाइ छ । “सरकार आलोचनाबाट डराउने होइन, तर अनुरोध यत्ति हो, वास्तविकता होस्, एक पक्षीय हुनु हुँदैन, मिडियाले आलोचनात्मक चेत राख्नुपर्छ, तर मिडिया आफैँ प्रतिपक्ष हुनुहुँदैन भन्ने मात्रै हो, प्रतिपक्ष त अर्कोको काम हो, मिडियाले त तथ्य पस्किनुपर्छ, त्यसको भागिदार सरकार हुने ठाउँमा सरकार वा अरु हुने ठाउँमा अरु हुन्छन्”, मन्त्री बाँस्कोटाले भने ।

सरकारले सञ्चारको क्षेत्रमा समानुपातिक विज्ञापन, पत्रकारको २५ प्रतिशत तलब वृद्धिलगायतका महत्वपूर्ण काम गरेपछि पत्रकार महासङ्घलगायतका सङ्घसंस्थाले नै कार्यान्वयन गर्ने विषयमा गम्भीर हुनुपर्ने उहाँको भनाइ छ । मन्त्री बाँस्कोटाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.