सिन्डिकेट नफर्किने गृहमन्त्रीको दाबी, कानुनी जटिलता भएको स्वीकार

| 2018 Dec 08 | 02:33 pm 1773

काठमाडौं, मंसिर २२ : गृहमन्त्री रामबहादुर थापाले यातायात क्षेत्रमा भएको सिन्डिकेट सदाका लागि अन्त्य भइसकेको बताउँदै अब नफर्किने दाबीसमेत गरे। उनले सिन्डिकेट पूर्ण रुपमा अन्त्यका लागि कानुनी जटिलता भएको समेत स्वीकार गरे।

उनले भने, ‘सिन्डिकेट अन्त्य भइसकेको छ। अब व्यवहारिक रुपमा नै अन्त्य गर्न केही कानुनी जटिलताहरु रहेका छन्। ती जटिलताहरुलार्इ समाधान गर्न छलफल र परामर्श भइरहेको छ। सिन्डिकेटको मुख्य गाँठो फुकाएका छौं। अब केही सानातिना गाँठाहरु विस्तारै फुकाउँदै जानेछौं।’

नेपाल सार्वजनिक यातायात प्रालिको प्रचम केन्द्रीय भेलाको उद्‍घाटनका क्रममा बोल्दै गृहमन्त्री थापाले यसअघि यातायात क्षेत्रमा एकाधिकार भएर केही सिमित व्यक्तिहरुमात्रै मोटाउने प्रवृति भएकोले त्यसको सदाका लागि अन्त्य गरेको बताए। उनले भने, ‘सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक बनाउन विकास निर्माण आवश्यक हुन्छ। विकास निर्माण यातायात बिना सम्भव छैन। त्यसकारण यातायात क्षेत्रलार्इ व्यवस्थित बनाउन जरुरी छ।’

भिडियो 

उनले नेपालमा केही मुठीभर व्यक्तिहरुमात्रै संसारका धनीहरुको सूचीमा परेपनि बहुसंख्यक नेपालीहरु गरिबीको रेखामुनी रहेको उल्लेख गर्नै भने, ‘नेपालमा अधिकांश मानिसहरु आज पनि खाना नपाएर, लुगा नपाएर जाडोमा कठ्याङ्ग्रियर ज्यान गुमाउन बाध्य छन्। सरकारले तिनीहरुका लागि काम गर्छ।’

गृहमन्त्री थापाले बाटोघाटो छैन, एयरपोर्ट, रेल, केबल यातायात छैन भने मुलुकको विकास हुन नसक्ने बताए। उनले भने, ‘सरकारले पूर्वपश्चिम र उत्तरदक्षिण बिजुलीबाट चल्‍ने रेल ल्याउँदैछ। जसले गर्दा भारतबाट आयात हुने इन्धनको पैसा बचत हुने र उक्त पूँजी अन्य विकास निर्माणमा लगाउन सकिन्छ।’

आगामी पाँच वर्षमा सरकारले प्रतिव्यक्ति आय दोब्बर बनाउने, १५ हजार मेगावाट बिजुली निकाल्ने योजना बनाएको समेत उल्लेख गरे।

त्यसैगरी कार्यक्रममा प्रालिका अध्यक्ष होमप्रसाद खधिकारीले यातायात व्यवसायी सरकारले लगाएको ऐन नियममा तल्न राजी भएको बताए। उनले भने, ‘सरकारको ऐन नियममा चल्न राजी छौ । तर, सरकारले व्यवसायीलार्इ दुश्मनको व्यवहार नगरेर अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्छ।

अधिवक्ता मनिष कुमार श्रेष्ठले यसअघि संस्था दर्ता ऐन २०३४ अर्न्तगत गठन भएका यातायात समितिले जनतालार्इ लुटेको र छायाँ सरकारलेजस्तै चलाएको तिनीहरुको हैकमवाद तोड्न गृहमन्त्री सफल भएको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.