काठमाडौं, मंसिर २२ : उपत्यकाको तापक्रम दिनानुदिन घट्दै गएकाे छ । आज बिहानको तापक्रम ५ दशमलव २ डिग्री सेल्सियस मापन भएकाे छ । यस वर्ष देशैभरिकाे तापक्रम अझै घट्दै गएर विगतकाे भन्दा बढी चिसाे हुने मौसमविद् बताउँछन् ।
तापक्रम लगातार घट्दै जान थालेपछि काठमाडौंमा चिसो अत्याधिक बढेको छ । शुक्रबार बिहानीपखकाे ५.५ डिग्री सेल्सियसमा झरेको तापक्रम आज ओरालो लागेर ५ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ ।
आज मापन गरिएको तापक्रम यस वर्षको अहिलेसम्मकै न्यूनतम तापक्रम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मौसमविद्का अनुसार तापक्रम अझै घट्ने छ भने यस वर्ष काठमाडौंमा निकै चिसो हुनेछ । यस्तै, आज देशका पहाडी भूभागमा आंशिक बदली हुने र उच्च पहाडी भूभागमा सामान्य हिमपातको सम्भावना रहेको छ । अन्य भूभागमा भने सामान्यतया मौसम सफा रहने जनाइएकाे छ ।