फोरमको केन्द्रीय समिति बैठक बस्दै

रिपोर्ट नेपाल | 2018 Dec 08 | 07:35 am 1928

काठमाडौं, मंसिर २२ : उपेन्द्र यादव नेतृत्वको संघीय समाजबादी फोरम नेपालको केन्द्रीय समितिको बैठक अाजबाट बस्दै छ । पार्टीका राजनीतिक समितिका महासचिव रामसहाय यादवका अनुसार राजनीतिक समितिले तयार पारेको प्रतिवेदन पास गर्न केन्द्रीय समितिको बैठक बोलाइएको हो ।

शनिबारदेखि सुरु हुने सो बैठकमा २०७६ बैशाख २८–२९ गते हुने पहिलो महाधिवेशनको तयारी तथा देशको समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका महासचिव यादवले जानकारी दिए ।

२ दिनसम्म ललितपुरको बालकुमारीमा बस्ने बैठकले महाधिवेशनको मितिसमेत सार्ने छ । फोरमले माघ २७ देखि २९ गतेसम्म जनकपुरमा महाधिवेशन गर्ने तयारी गरेको थियो । अबको महाधिवेशन बैशाख २८ देखि ३० सम्म हुने छ ।

प्रतिनिधिसभाका चौथो ठूलो दल फोरम नेपाल संविधान संशोधन गराउने सर्तमा सरकारमा सहभागी भएको छ । सरकारमा सहभागी भएपछि संविधान संशोधनको विषयमा के कति काम भयो त्यस विषयमा पनि केन्द्रीय समितिमा छलफल हुने महासचिव यादवले जानकारी दिए ।

सातवटा प्रदेशसहित देश सङ्घीय संरचनामा गइसकेको बताउँदै उनले सोही अनुसारको पार्टी संरचना बनाउने बताए । सरकारमा सहभागी हुँदा सरकारसँग गरिएका सहमति कार्यान्वयनका लागि पनि दबाब दिने फोरमको योजना छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.