काठमाडौँ, मंसिर १९ : नेपाली कांग्रेसले आगामी दिनमा पार्टीको नयाँ आर्थिक नीति तय गर्नका लागि केन्द्रीय समिति बैठकमा आर्थिक नीतिको मस्यौदा पेस गरेको छ। पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा रहेको आर्थिक प्रतिवेदन मस्यौदा समितिले आफ्नो प्रदिवेदन छलफलका लागि केन्द्रीय समिति बैठकमा पेस गरेको हो। कांग्रेसले अब नयाँ आर्थिक नीतिमा रोजगारी र कृषिलाई प्राथमिकता दिने भएको छ।
केन्द्रीय समितिमा पेसको भएको प्रतिवेदनमा व्यापक रोजगारी सृजना गर्ने र कृषिलाई प्रतिफल मुखी मनाउने उल्लेख भएको संयोजक महत बताउँछन्। ‘अहिलेको आवश्यकता व्यापक रोजगारी हो। हाम्रो नीति अब गुणस्तरीय रोजगारी सृजना गर्नतर्फ हुन्छ’, उनले भने, ‘हाम्रो समग्र आर्थिक नीतिले कृषिमा पनि जोड दिन्छ।
अहिलेसम्मको कृषि हाम्रो प्रतिफल दिने भएन लागत मात्र बढी भयो। अब आधुनिकीकरण गरेर प्रतिफल प्राप्त गर्न सक्ने बताउनुपर्छ भन्ने नीति हो।’ यस्तै, कांग्रेसले शिक्षा र स्वास्थ्य क्षेत्रलाई सरकारले जनतामाझ पुर्याउन सक्नुपर्ने नीति लिने मस्यौदामा उल्लेख छ। ‘उद्योग क्षेत्रमा निजी क्षेत्रले लगानी गर्छन्। यसबाट पनि रोजगारी सृजना हुन्छ।
उत्पादनको क्षेत्रमा नीजि क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ’, सहमहामन्त्री डा. महत भन्छन्,‘ तर शिक्षा र स्वास्थ्य निजी क्षेत्रले पूरा गर्न सक्दैनन्। गरिब जनताले निजी क्षेत्रको शिक्षा र स्वास्थ्य उपभोग गर्न सक्दैनन्। त्यसैले शिक्षा र स्वस्थ्य राज्यले नै प्रत्यभूत गर्नुपर्छ।’ कांग्रेसलको अर्थ नीतिमा दीर्घकालीन योजनामा निजी क्षेत्र नभई सरकार आफैँले लगानी गर्नुपर्ने उल्लेख गरेको महतले बताए। उनले कांग्रेसले यही नीतिका आधारमा सरकारलाई खबरदारी गर्ने बताए।
उच्च उत्पादकत्वमा आधारित दीगो र फराकिलो आर्थिक वृद्धिका लागि स्वेदशी र विदेशी लगानी भित्र्याउने, लगानी प्रक्रियालाई जिम्मेवारीसहितको विकेन्द्रिकृत एकद्वार प्रणाली लागू गर्ने, आयात प्रतिस्थापन गर्ने उद्योग व्यवसायहरु संरक्षण गर्ने नीति लिने प्रस्ताव छ। कृषिमा प्रतिफलभन्दा लगानी धेरै भएकोले सुलभ ब्याजदरमा कृषि ऋणसहितको अनुदान नीति ल्याउने, भूमि खण्डीकरण रोक्न, करार र सहकारी कृषिलाई सहयोगको नीति लिइने छ। र, कृषिजन्य वस्तुमा किसानको न्यायोचित मूल्य सुनिश्चित गर्ने नीति अख्तियार गर्ने कांग्रेसको प्रस्ताव छ।
नेपाललाई धार्मिक, सांस्कृतिक दृष्टिले अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्ने, यसका लागि सडक र हवाई पूर्वाधार विकास गर्नेलगायत उल्लेख छ। कांग्रेसले कर्णाली प्रदेशलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने नीतिसमेत अघि सारेको छ।
यस्तै, संघीयतालाई आर्थिक प्रभावकारिता र पहुँच बढाउन संविधानले परिकल्पना गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई तत्काल क्रियाशील गराउने र सशक्त बनाउन कांग्रेस क्रियाशील रहने बताइएको छ। आगामी दशक राष्ट्रिय पुनर्जागरणको दशक हुने भन्दै कांग्रेसले नेपाललाई दीगो विकासमा कम्तीमा मध्यम आय भएको मुलुक बनाउन नीतिगत सुधारमार्फत तीव्र गतिमा पूर्वाधार निर्माण, स्वदेशी एवं विदेशी पुँजी परिचालन, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न प्रतिबद्ध र इमान्दार रहने बताएको छ।