नेपालमा सम्पन्न एसिया प्यासफिक समिट नेपालमा सम्पन्न भयो। यसमा सरकार स्वयं र नेकपाका शिर्ष नेताको सक्रियतामा कार्यक्रमको भव्य समापन भएको सरकारले दाबी गर्यो। संस्थाबाट प्रधानमन्त्री केपीशर्मा ओलीलार्इ एक लाख डलरसहितको अवार्ड प्रदान गरियो।
अहिले यस विषयमा सरकार र सत्तारुढदलभित्रै ठूलो विवादको विषय बनेको छ। आम नागरिकले संविधानले बन्देज गरेको धर्म प्रचार र सरकारको बिना स्विकृती प्रधानमन्त्रीले अवार्ड थापेको भन्दै प्रधानमन्त्री केपीशर्मा ओलीको आलोचना भएको छ। त्यसैगरी कार्यक्रम संयोजक बनेका नेकपा वरिष्ठ नेता माधव कुमार नेपाललको पनि निकै आलोचना भइरहेको छ। यस विषयमा नेकपाकै नेताहरुले विरोध तथा आलोचना गरेका छन्। यस विषयमा नेकपाकै नेता भिम रावलसँग रिपोर्ट नेपालले गरेको कुराकानी।
एसिया प्यासिफिक समिटमा सरकारको सहयोग छ अनि नेकपाकै नेता माधव कुमार नेपाल संयोजक भएको कार्यक्रमको विरोध किन ?
यस्ता विषयहरू पार्टीभित्र छलफल गरेर निर्णय गर्नुपर्छ भन्ने म ठान्छु । यो आयोजना गर्ने कुरा सुनेपछि पार्टीभित्रै छलफल गर्न इच्छुक थिएँ । धेरै दिन अघि नै यस विषयमा पार्टीका अध्यक्षद्वयको ध्यानाकर्षण गराएको पनि थिएँ । म विद्यार्थी हुँदा नै दक्षिण कोरियाली नेता मुनका बारेमा सुनेको थिएँ । न्युजविक लगायतका पत्रिका पढ्दा उनी अत्यन्त विवादास्पद व्यक्ति भएको कुरा त्यतिबेला सञ्चार माध्यममा आएको कुरा मेरो स्मरणमा एकदमै ताजा थियो ।
अहिले नेपालमा सरकार स्वयम् त्यस्तो खालको सम्मेलनमा संलग्न हुने भएपछि मैले प्रधानमन्त्री समक्ष, पार्टीका अध्यक्षद्वय र महासचिवको मैले ध्यानाकर्षण गराएको थिएँ । सम्मेलन अयोजना त आफ्नो ठाउँमा छ, कार्यक्रममा नेकपाका सम्पूर्ण निर्वाचित नगरका प्रमुख उपप्रमुख दम्पत्तिलाई आशीर्वाद दिने र ज्याकेटसम्म दिने प्रलोभन देखाइएको थियो ।
पार्टी र सरकार कुनै संस्था वा कसैको निहित स्वार्थमा दुरूपयोग हुनुहुँदैन भन्ने मेरो धारण हो। किनभने सरकारलाई यसै पनि जनताले सुपरिवेक्षणमा राखिरहेका हुन्छन्। कतिपय विषयमा कतिले प्रहार गर्न खोजिराखेका हुन्छन्। तर मैले ध्यानाकर्षण गराएको कुरा र व्यवहारको तालमेल देखिनँ । मैले राखेको कुरा पार्टीभित्र छलफल नभएपछि पार्टीको भविष्यलाई प्रभाव पार्ने, राष्ट्रको हित, देशको गरिमा र सरकारको मर्यादामा प्रभाव पार्ने कुरा भएकोले म विरोधमा उत्रिन बाध्य भएको हुँ।
यो संस्था विवादित हो भन्ने जान्दाजान्दै किन यसरी लाग्यो ? वा विवादित हो भन्ने थाहा नै नभएर हो ?
मलाई पनि आश्चर्य लाग्छ । कुनै पनि गैरसरकारी संस्था वा व्यक्ति विशेषको कार्यक्रममा सरकार कहिल्यै पनि आयोजक हुँदैन र हुनु हुँदैन। यदि राम्रो संस्था छ भने सरकारको तर्फबाट वातावरण बनाउने, केही सहयोग गर्ने हुनसक्छ । तर कुनै बेला उत्तर कोरियाबाट जासुसी गरेको अभियोगमा ५ वर्ष कैद सजाय गरिएको, अमेरिकामा कर छलेको अभियोगमा १८ महिना कैदमा परेका, बेलायतमा १९९५ मा प्रवेश निषेध पारिएका मुन भन्ने व्यक्तिले खोलेका यो युनिफिकेसन चर्च भन्ने संस्था खोलेका हुन्।
यस्तो संस्थालाई सरकारले अघि सरेर विभिन्न देशका विशिष्ट पाहुनालाई बोलाएर कार्यक्रम गर्नु, कार्यक्रममा गएर सहभागी हुनु अत्यन्तै दुःखको कुरा हो। यस विषयमा सरकारी संयन्त्र पुरै प्रयोग भएको छ। विवादास्पद हो भन्ने थाहा हुँदाहुँदै थाहा नभएजसरी ढाकछोप गरेर यो कार्यक्रम गरिएको छ। यसमा ज-जसका जे-जे स्वार्थ पुरा भएपनि यसले नेपालको कहिल्यै भलो गर्दैन। यो सरकारले गरेको ठूलो कमजोरी हो।
यो कार्यक्रम नेपालमा गर्न कति आवश्यक थियो ?
यो कार्यक्रम नेपालमा भएर नेपालीलार्इ के फाइदा भयो र ? केही पनि छैन। त्यसकारण नेपालमा यो कार्यक्रमको कुनै औचित्य नै थिएन र छैन। विश्व समुदायमाझ आँखाको कसिंगर भइसकेका नेतालार्इ नेपाल बोलाएर नेपालीको सान माथि उठेको महसुस गर्नु आत्मरति सिवाय केही पनि होइन।
परिवार दलका नेताहरूले नक्सालमा कार्यालय खोलेर कैयौँ नेपालीहरूलाई रकम संकलनको नाममा दक्षिण कोरिया, जापान जस्ता देशहरूमा पठाएर त्यहाँका सडकमा पैसा माग्न लगाएर नेपालको बेइज्जत भइरहेको छ र त्यहाँका मानिस मगन्तेहरूबाट आजित भएका छन् भन्ने समाचार आइरहेको बेला त्यही दलका नेताको मुख्य आयोजनामा यो कार्यक्रम गर्नु स्वाभीमानी नेपाली माथि नै गरिएको अर्न्तघात हो।
हाम्रा सम्पूर्ण जननिर्वाचित जनप्रतिनिधिलाई हामीले अहिलेसम्म एउटा प्रशिक्षण दिन सकेका छैनौँ, अहिलेसम्म पार्टीले बैठक बोलाउन सकेको छैन। अनि दम्पतीसहित आएर होटलमा बसाउने, प्लेन चढाउने, ज्याकेट दिन्छु भनेर प्रलोभन देखाउने ? यो पैसा कहाँबाट आयो ? यसको छानविन हुनुपर्छ। कानुनबमोजिम कारबाही गरिनुपर्छ।
आङसाङ सुकीसँग व्यापार सम्झौता भएको भनिएको छ? यो त राम्रो हो नी होइन् र ?
कुनै बेला आङ साङ सुकीलार्इ म सम्मान गर्थे। उनी नोबेल पुरस्कार विजेता महिला हुन्। उनले ठूलो त्याग, तपस्या, संघर्ष र बलिदान गरेकी छन्। त्यो फरक पाटो हो। तर, अहिले अवस्था उपयुक्त होइन्। म्यानारसँग के-को व्यापार सम्झौता भयो, तपार्इंलार्इ थाहा छ, दाल व्यवस्थित रुपमा ल्याउने। के यसअघि अव्यवस्थित रुपमा ल्याइएको थियो। दाल म्यानमारबाटै किन ल्याउन पर्यो। नेपालमै दालको पकड क्षेत्र बनाएर निर्यात गर्न सक्ने क्षमता छ। तर, यो अनावश्यक हल्ला किन ? सूर्यलार्इ हत्केलाले छेकेर कहिल्यै छेकिदैन।
म्यानमारमा अहिले रोहिङ्ग्या शरणार्थीको विषयलाई लिएर संयुक्त राष्ट्र सङ्घ, कतिपय युरोपेली मुलुक र थुप्रै देशहरूले उनको आलोचना गरिरहेका छन् । कतिले त उनलाई दिएको सम्मान पनि फिर्ता लगेका छन् । अनि यस्तो संवेदनशील कूटनीतिमा नेपालले विचार गर्नुपर्छ कि पर्दैन ?
सरकारले त होस्ट मात्रै गरेको भन्ने सुनिन्छ नी, के ‘होस्ट’ गर्न मिल्छ ?
म आफैं अचम्ममा परेको छु। कतिपय हाम्रै साथीहरुले भनेको सुन्छु, सरकार त होस्ट मात्रै हो। नेपालीहरुले बुझ्छन् होला नी होस्ट भनेको। यसको नेपाली शब्दार्थ अनुवाद हुन्छ, ‘अतिथिहरुलार्इ आवश्यक स्रोतसाधनको व्यवस्थापन गर्ने’ । यसरी होस्ट गर्नु आपत्तिजनक नै हो । नेपाली जनताले तिरेको कर यस्तो विवादास्पद संस्थाको विवादास्पद कार्यक्रममा खर्च गर्न मिल्दैन र गरिनु हुँदैन।
यो संस्था राम्रो थियो, विश्वव्यापी छवि राम्रो थियो, त्यसले साँच्चिकै नेपालको छविलाई माथि पार्थ्यो भने पनि प्रधानमन्त्री आफैले चिठ्ठी लेखेर विभिन्न देशका मान्छेलाई यो देशमा आउनु भनेर निम्तो दिन मिल्दैन । मैले थाहा पाएसम्म प्रधानमन्त्रीको नाम प्रयोग गरेर पत्राचार गरिएको छ र पत्रमा भनिएको छ, यो पत्र परिवार दलका एकनाथ ढकालजीले प्रस्तुत गर्नुहुनेछ । के हो यो ? एकनाथ ढकालजी र सरकारको सम्बन्ध के हो ?
उहाँप्रति मैले यसरी नाम लिँदा कसैले विरोध भन्ने ठान्ला तर म तथ्य मात्र बोल्दैछु । उहाँको मैले दुई–तीन दिन अगाडि रेडियोमा अन्तरवार्ता सुनेको थिएँ । अन्तरवार्तामा उहाँले भन्नुभयो, ‘म कम्युनिस्ट होइन । मेरो छुट्टै दल परिवार दल छ ।’ उहाँको कम्युनिस्टसँग ३ बुँदे कार्यगत एकता भएको थियो । उहाँको के योगदान छ कम्युनिस्ट आन्दोलनमा ?
उता मुन पनि घोर कम्युनिस्ट विरोधी थिए । उनकी श्रीमती अहिले जो यहाँ नेपाल आएकी छिन्, उनको परिवार घोर कम्युनिस्ट विरोधी थियो। त्यसैले उत्तर कोरियाले निकाल्यो । मुनले त कम्युनिस्टहरूलाई सैतान भन्थे । म त्यो तथ्यसहित पेश गरिदिन सक्छु । अनि त्यस्तो व्यक्तिलाई नेपाल कम्युनिस्ट पार्टीको यस्तो शक्तिशाली सरकारले काँधमा राखेर प्रधानमन्त्री स्वयम्ले विभिन्न देशलाई पत्र लेख्नु यो एकदमै दुःखद र चिन्ताजनक विषय हो।
तपाईंले यसो भनिरहँदा ४५ राष्ट्रका कतिपय राष्ट्रका त राष्ट्र प्रमुख नै, सरकार प्रमुख नै, साथै हाम्रै देशका पनि वरिष्ठ भनिएका नेताहरू, प्रधानमन्त्री, के नबुझी गएका हुन् त ?
अब उहाँले बुझ्नुभयो बुझ्नुभएन उहाँहरूलाई नै सोध्नुस् । मैले त मैले बुझेको कुरा भन्ने हो । कुनै नेताहरू जाँदैमा कुनै कार्यक्रम भयंकर पवित्र हुन्छ र भयंकर गजब भइहाल्छ भन्ने होइन।
जहाँसम्म विभिन्न देशका मान्छे आए भन्नुहुन्छ, कस्ता देशका मान्छे आएका छन् ? के चीनका, भारतका प्रधानमन्त्री, राष्ट्रपति यहाँ आउनुभएको छ ? युरोपका आएका छन् ? जापानका आएका छन् ? जापान नेपालको ठूलो सहयोगी राष्ट्र हो । बेलायतमा त प्रतिबन्ध नै थियो यो संस्थालाई अनि को आउने ? अनि सानातिना राष्ट्रका मान्छे जो विभिन्न कारणबाट प्रभावित हुन्छन् र विभिन्न कूटनीति र विभिन्न देशबाट आफैं उनीहरू एक प्रकारले अलगथलग अवस्थामा परेका छन् । त्यस्ता व्यक्तिहरूलाई बोलाएर के हुन्छ र ?
भर्खरै नेपालले नयाँ संविधान ल्याएको छ, यत्रो ठूलो शान्ति प्रक्रिया पूरा गरेको छ, तीन–तीन तहका निर्वाचन गरेको छ । नेपाल कम्युनिस्ट पार्टीले नेपालको कम्युनिस्ट आन्दोलनमा पहिलो पटक एउटा सुनौलो अवसर प्राप्त गरेको छ । यस्तो अवस्थामा के काम गर्नुहुन्छ, के काम गर्न हुँदैन, त्यसको प्रभाव के हुन्छ, त्यसको परिणाम के हुन्छ ? भनेर सोचेर कदम चाल्नुपर्छ । मलाई यसमा धेरै मूल्याङ्कन भएको जस्तो लागेन ।
एउटा व्यक्तिले यस्तो कार्यक्रमको आयोजना गर्दा सरकार नै लाग्नुकोपछि के स्वार्थ छ ?
म कसैलाई कुनै दोष दिन चाहान्न । यसको स्वार्थ के छ भन्ने कुरा उहाँहरुलार्इ नै सोध्नुपर्छ। म पनि पार्टीको बैठकमा सोध्छु। तपार्इं पत्रकारजगतले पनि सोध्नुहोला के हो यो भनेर। मैले बाहिरबाट हेर्दा परिवार दल, एकनाथजीहरूको यो साधन, स्रोत कसले कहाँबाट प्रभावित गरेको छ ? मलाई लाग्छ त्यसको दुरूपयोग र लहैलहैमा यी सम्पूर्ण काम भएको हो।
यसले हाम्रो देशमा पार्ने प्रभाव यसले हाम्रो देशको कूटनीतिमा पार्ने कुप्रभाव केही पनि नहेरी यो संस्थाको पृष्ठभूमि नहेरी यो कस्तो संस्था हो नहेरी यो परिवार दलको (एकनाथजीको) प्रभावमा परेर हुनसक्छ । यसबारे स्वतन्त्र आयोग गरेर गठन गरेर छानबिन गर्नपर्छ।
आयोग गठन गर्दा त तपाईंकै पार्टीका दुईवटै अध्यक्ष र नेताहरू नै मुछिन्छन् नी ? तपार्इंको अध्यक्षले भनेजस्तै विमानको स्विच त उहाँसँगै छ। के यो सम्भव छ ?
जजसले गल्ती गरेका छन् तिनले जिम्मेवारी त लिनैपर्छ । पार्टीका नेताहरू र सरकार भनेको देश र जनताप्रति उत्तरदायी हुनैपर्छ। अनि यत्रो ठूलो कार्यक्रम गर्दा हाम्रो पार्टीभित्र छलफल गर्नुपर्दैन ? हामी त्यही पार्टीमा लागेका मान्छे होइनौँ ? यो सरकार कसको शक्तिमा यहाँ पुगेको छ ? हामीजस्ता व्यक्तिले मैदानबाट काँध थापेर यो सरकार बनेको होइन ? अनि के आज परिवार दल र एकनाथजीले चलाउने यो पार्टी ? यो कुरा स्वीकार्य हुन सक्दैन । कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन ।
मलाई लाग्छ नेपाल कम्युनिस्ट पार्टीका कुनै पनि कार्यकर्ता र आफ्नो स्वाभिमानप्रति प्रतिबद्ध कुनै पनि नेपालीले यस्तो कुरा स्वाभाविक हो भनेर कसैले भन्ला भन्ने मलाई लाग्दैन। चाहे अध्यक्षज्यूहरु नै किन नपरुन, यसको निषपक्ष छानविन हुनैपर्छ। यसका लागि जनताले साथ दिनपर्छ। यसमा दोषी जो कोही भएपनि कानुनी दायरमा आउनैपर्छ। आयोग गठन गरिनुपर्छ।
यो कार्यक्रमले के–के नकारात्मक प्रभाव पार्यो?
नकारात्मक प्रभाव त परि नै सक्यो। नेकपा जस्तो दुई–दुईवटा पार्टी एकीकृत भएर बनेको शक्तिशाली पार्टी एउटा परिवार दलले हल्लाएर हल्लिने रहेछ भन्ने एउटा कुप्रभाव त परिहाल्यो । दुर्इ तिहाइको शक्तिशाली सरकार र दुर्इ कम्युनिस्ट पार्टी मिलेर बनेको शक्तिशाली सरकार त परिवार दलको कब्जामा रहेछ भन्ने स्पष्ट देखियो । के यसलार्इ सकारात्मक प्रभाव भन्ने। मलाई यसो भनिरहँदा मन धेरै दुखेको छ। आज म यो भन्न बाध्य भए। पार्टीमा यस्तो भन्ने ठाउँ नै छैन। मलार्इ यसमा धेरै दुःख छ ।
दोस्रो, सरकारको आफ्नो मर्यादा हुन्छ । प्रधानमन्त्रीले कुनै एउटा निजी स्वार्थमा मान्छेलाई कार्यक्रममा भाग लिन पत्र पठाउन मिल्दैन।
तेस्रो, हाम्रोजस्तो संवेदनशील भूराजनीति भएको, भर्खरै द्वन्द्वबाट बाहिर आएको देश अब सिर्जना र निर्माणमा लाग्नुपर्ने बेला कूटनीतिक रूपमा अफ्ठ्यारोमा परेका मान्छेहरूलाई यहाँ बोलाएर कार्यक्रम गर्दा संसारले हामीलाई कसरी हेर्छ ? यसै पनि नराम्रो प्रभाव परिसक्यो ।
चौथो, युनिभर्सल पिस फेडेरेसन नामक यो संस्थाले हामी सबै भगवानका सन्तान हौँ भन्छ। जुन उद्देश्यका साथ यो संस्था गठन भयो, यसले जस्तो सिद्धान्त बोकेको छ, त्यो हेर्दा हामी कम्युनिस्ट पार्टीले कम्युनिस्ट सिद्धान्त छोडिसकेका हौँ ? के अब हामी यो सिद्धान्तको पछि लागेका हौँ ? के हो यो ? के कुरालाई हामी बढावा दिन खोजिरहेका छौँ ? आफ्नो देशको संस्कृति, आफ्नो देशको सभ्यता, आफ्नो देशका जनताको संस्कृतिको रक्षा गर्नुपर्ने बेलामा हामी यस्ता काम गर्छौं भने त प्रभाव त परि नै सक्यो । आर्थिक लाभको प्रलोभनमा परेर जनताको बलिदानी र वर्षौंदेखिको संघर्ष , त्याग, जेलनेल अनि कम्युनिस्टका सिद्धान्तको मोलमोलार्इ गरिनुहुँदैन।
तपाईंले बोकेको सिद्धान्तभन्दा यो पृथक् भयो ?
विचारधाराको त कुरै नगर्नुस् । यसप्रति कुनै पूर्वाग्रह छैन । मान्छेको विभिन्न विचारधारा हुनसक्छ, धर्म हुनसक्छ । म सबैको सम्मान गर्छु । तर कुन कुरा कुन बेला गर्दा राष्ट्रलाई के असर पर्छ भन्ने कुरा त ध्यान दिनुपर्यो नि । यो संस्थाका संस्थापक र निजकी श्रीमती जो यहाँ ल्याइएको छ, उहाँहरू घोर कम्युनिस्ट विरोधी हो । जासुसको आरोप लागेर जेलमा परेको, कर छलेको आरोपमा जेलमा परेको, बेलायतजस्तो देशले पनि प्रतिबन्ध लगाएको, यहाँभन्दा बढी मैले के भन्ने ?
यो संस्था यसको पारिवारिक गुटबन्दीमा फसेको छ । तीनवटा संस्था बनिसकेका छन्– एउटा श्रीमती, जेठो छोरा र कान्छो छोराले । ती आआफ्नो काम गरिराखेका छन् । त्यसमध्ये एउटा छोराले त अबदेखि आशीर्वाद दिने समारोहमा एआर–१५ भन्ने एसल्ट राइफल बोकेर आउनु भनेर निर्देशन दिएका छन् । त्यो कुराले अमेरिका जस्ता ठूला देशहरूमा विवाद भइरहेको छ । अनि सरकार बुझ्दै नबुझी त्यस्तो संस्थाको लहैलहैमा लाग्न सुहाउँदैन।
धार्मिक हिसाबले यसको असर के छ ?
जब कोरिया युद्धमा पाँच वर्ष जेल परेर भागेर आएपछि मुन र उनको श्रीमतीका परिवार चर्चमा गएर लुकेर बसेका थिए । त्यसैबेला उनले बिहे गरेका थिए । त्यस्तो अवस्थामा बनेको संस्थाले हामी सबैलाई मसिहाका सन्तान हौँ भन्छ र संसारभरी इसाई धर्मको प्रचार गर्छ । मुनले संस्था खोल्ने बेला जिससले आफूलाई उनले गर्न नसकेको काम गर्न पठाएको बताएका थिए ।
यस्तो संस्थाको कार्यक्रममा नबुझी पछिलागेर नेपाल जस्तो धर्मनिरपेक्ष देश, जहाँको संस्कृति हेर्नुभयो भने बुद्धधर्मबाट, हिन्दु धर्मबाट धेरै प्रभावित छ । त्यो धर्मले कसैमाथि अत्याचार गरेको छैन । अनि त्यहाँ आएर राज्यका प्रधानमन्त्री र मन्त्रीहरू मान्छेलाई विमानस्थलमा नै लिन गयो भने त्यसको असर कति पर्छ, त्यो स्वयम् प्रष्ट छ ।
सरकारले गर्ने काम यही हो ?
मैले सुनेको छु आज दम्पती आएर आशीर्वाद लिन लगाइयो। एउटा विशेष चीज पिउन लगाइयो रे, ‘होलीवाइन’। यो सरकारले गर्नुपर्ने महत्त्वपूर्ण कामहरू अरू कति छन् । कमसेकम पार्टीको एउटा बैठक गराइदिएर हामीलाई आफ्नो धारण राख्न दिए कति राम्रो हुन्थ्यो । तीन–तीन दिनसम्म प्रधानमन्त्रीलाई सोल्टी होटलमा राखेर यो कुनै पार्टी र सरकारको मर्यादा माथि उठाउने काम हो भनेर कसले भन्न सक्छ ?
संविधान निर्माण गर्दा तपाईं महत्त्वपूर्ण जिम्मेवारीमा हुनुहुन्थ्यो। अहिलेको यस्तो क्रियाकलापले संविधानमा धर्मनिरपेक्षता राखेर कहीँकतै गल्ती गरिएछ जस्तो लाग्छ कि लाग्दैन ?
धर्मनिरपेक्षता भनेको कुनै धर्मलाई घृणा गर्नुपर्छ भनेको होइन अथवा धर्म परिवर्तन गराउन पाइन्छ भनेका पनि होइनौँ । हामीले भनेको के हो भने राज्य किन कुनै अमुक धर्ममा संलग्न हुने ? धर्म भनेको व्यक्तिको आस्था हो । राज्यले त धर्मको उत्थान गर्ने हो । धर्ममै राज्य किन संलग्न हुने ? तर एउटा बदनामी संस्था ल्याएर राज्य नै यसरी लाग्ला भनेर त हामीले कल्पनासमेत गरेका थिएनौँ।
संविधानले कसैलाई यस्तो सम्मेलन गर भनेर लेखेको छैन । हाम्रो देशको हित कसरी हुन्छ, त्यो कुरा सोच्नुपर्छ । देश हाँक्छु भन्नेहरूले जनताले चुनेर तपाईंले पठाइसकेपछि जे पनि हुन्छ भन्ने सोच्न मिल्छ ? जनताले मलाई के जे गर्ने पनि लाइसेन्स दिएको हो र ? जनताले त मलाई यो देशको हित गर्ने, यो राष्ट्रको हितमा काम गर्ने, लोकतन्त्रको रक्षा गर्ने र विकास र समृद्धिको काम गर्ने मात्रै मलाई प्रमाणापत्र दिएको हो ।
आयोजकबाट लज्जाबोध भयो कि तपाईंलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट ?
जे भयो, नेपालको संविधान र नेपालको हितअनुकूल भएन भन्ने हो । ककसले कहाँ–कहाँ के–के भूमिका खेले त्यो त हामीले पहिले नै भनिसकेका छौँ । कुराहरू त धेरै छ, के कोट्याइरहनु । त्यसैले यस्ता कुराहरूमा नेपाली जनताले गम्भीर ध्यान दिनुपर्ने देखिएको छ । यस्ता कुराबाट हाम्रो सरकार र कम्युनिस्ट पार्टी जोगियोस् । यो विषयमा पार्टीले सामूहिक छलफल गरोस् ।
भनेपछि यो संविधानविपरीत भइरहेको छ ?
हामीले सरकारको मर्यादा जुन सिद्धान्तले निर्देशित गरेका छौँ, त्योसँग अहिलेको यो कार्यले बेलकुल मेल खाँदैन । कार्यक्रमको उद्घाटन गर्ने शुभकामना दिनेसम्मका काम गर्नु ठूलो कुरा थिएन। कार्यक्रमको विस्तृत नबुझेरै प्रधामन्त्रीलाई नै चिठ्ठी लेखाएर विभिन्न देशका मान्छेलाई आमन्त्रण गर्ने अनि एकनाथ ढकालजीलाई उहाँ मेरो प्रतिनिधि हो भनेर पठाउने कामले प्रश्न उठाएको छ।
तर कुनै देशको प्रमुखले त्यो कस्तो संस्था हो ? त्यसका गतिविधि कस्ता छन् भन्नेबार नबुझी काम गर्न अनि त्यसो भए यति सानो कुरामा ख्याल नराख्ने प्रधानमन्त्रीबाट समृद्ध नेपाल सुखी नेपाली भन्ने सपना पूरा हाला भनेर कसरी आशा गर्ने ?
म त्यता जान चाहन्न । किनभने मैले त्यस विषयमा बोले भने यो सम्मेलनको निहुँमा अन्य विषयमा प्रवेश गर्ने खोजे जस्तो हुन्छ । यस्तो विवादास्पद संस्थाले आयोजना गरेको कार्यक्रममा प्रमुख नेतादेखि राष्ट्र प्रमुखसम्म गएर सरकारी निवास छोडेर होटलमा बास बस्ने काम भएको छ । यस्ता कार्यबाट जनतालार्इ निराश बनाएको छ।
म त यो कुरा बैठकमै राख्नुपर्छ भन्ने मान्छे । मिडियामा आएर कुरा राख्नुपर्दा म खुसी छैन । तर यो देशको भविष्यसँग गाँसिएको विषय भएकाले मुखमा पट्टी बाँधेर बस्न सकिएन । यो कुरा मैले रिस, आवेग वा उत्तेजनामा आएर बोलेको पनि होइन ।
स्थायी कमिटीको यसअघिको बैठकले सरकारको समग्र विषयको समीक्षा गर्ने भनेर निर्णय गरेको छ । पार्टीको विधानअनुसार ३ महिनामा स्थायी कमिटीको बैठक बस्नुपथ्र्यो । तर ४ महिना बित्न लाग्यो, बैठक बस्न सकेको छैन । विधि–विधानमा नचलेर यत्रो ठूलो पार्टीलाई हाँक्न सकिएला ? व्यक्तिहरू भनेका अनुशासन, विधि, विधान, नीति, विचार र आदर्शबाट मात्र एक ठाउँमा बाँधिन्छन् । कुनै व्यक्तिलाई शक्तिले बाँधेर जान सकिन्छ भन्ने सोच बनायो भने त्यो भ्रम मात्रै हो । पार्टी केको लागि हो भन्ने कुरा सम्झनुपर्छ । पार्टीलाई देश, जनता र विश्वसामु स्वाभिमान जोगाउने काममा प्रयोग गर्नुपर्ने हुन्छ ।