बल्ल खुल्यो जोमसोम अस्पतालमा औषधीको बिक्रीकक्ष

रिपोर्ट नेपाल | 2018 Dec 04 | 12:00 pm 2488

मुस्ताङ, मंसिर १८ :  हिमालपारी मुस्ताङका बिरामीहरु औषधीमुलो गर्न सदरमुकाम जोमसोम आउँदा महंगोमा औषधी किन्न बाध्य थिए । यसै कुरालाई मध्येनजर गर्दै यहाँस्थित जिल्ला अस्पतालले औषधि बिक्रीकक्ष सञ्चालन गरेपछि यहाँका सर्वसाधारणलाई ठूलो राहत भएको छ । लामो समयदेखि सरकारी अस्पतालमा औषधि बिक्रीकक्ष नहुँदा बिरामी निजी औषधि पसलबाट महङ्गोमा औषधि खरिद गर्न बाध्य थिए ।

उपचारका लागि आउने बिरामीलाई सहज र सुपथ मूल्यमा औषधि उपलब्ध गराउने उद्देश्यले बिक्रीकक्ष सञ्चालन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङले जानकारी दिए । गुरुङका अनुसार अब चौबिसै घण्टा औषधि बिक्रीकक्ष खुल्ला रहनेछ । बिक्रीकक्षको उद्घाटन गण्डकी प्रदेशका सदस्य चन्द्रमोहन गौचनले गरेका छन् ।

औषधी कक्ष नभएका कारण मुस्ताङ भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई असुविधा हुने गरेको थियो । सरकारले निःशुल्क वितरण गर्ने बाहेकका औषधि तोकिएको मूल्यमै बिक्री गरिने जिल्ला अस्पतालका सिनियर अहेव कर्ण थकालीले बताए । औषधि बिक्रीकक्ष सञ्चालन गर्न गत वर्ष भवन निर्माण गरिएको हो । यस वर्ष औषधि खरिद गर्न चार लाख ९० हजार बजेट उपलब्ध भएको अस्पतालको आर्थिक शाखाले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.