सुनसरीमा चार महिनामा ११ हत्या

| 2018 Dec 02 | 09:32 am 1577

इटहरी, मंसिर १६ : सुनसरीमा चार महिनामा ११ जनाको हत्‍या गरिएको छ। गत भदौ २४ गते सुनसरी बराहक्षेत्र–६ का २२ वर्षीय सुरेन्द्र माझीको खिल्ली उडाएको झोंकमा तीन युवकले हत्या गरे। रक्सीले मातेका ती युवकले आफूहरू विदेशमा हुँदा गरेको कामको आलोचना भएपछि आवेशमा आएर माझीको हत्या गरेका बयान दिए।

घटनामा संलग्‍न तीन जनामध्ये मोरङको कानेपोखरी घर भएका २१ वर्षे शरण तामाङ र सुनसरीकै बराहक्षेत्र वडा नं. ६ का २३ वर्षे शक्ति तामाङ पक्राउ परे। अर्का अभियुक्त सुनसरीको इनरुवा–१० जितेन्द्र उराव भने फरार छन्।

यस्तै भदौकै २५ गते साँझ देवानगन्ज वडा नं. ५ का ४२ वर्षीय सञ्जिव यादवलाई साथीहरूले घुम्न जाउँ भन्दै घरबाट लिएर गए। त्यसको भोलिपल्ट भारतीय क्षेत्रमा हत्या गरिएको अवस्थामा यादवको शव भेटियो। हत्‍यामा संलग्‍न सबै फरार छन्।

मंसिर ५ गते गोली हानी दुहबी–९, सोनापुर छाताबेलीका मोहम्मद फिदा हुसेनको हत्या भयो । घटना भएको १० दिन भइसक्दा पनि हत्या पत्ता लाग्‍न सकेको छैन। फिदा हत्याको एउटा कारण राजनीति हुन सक्ने आशंका गरिएको छ।

यस्तै गत असोज १२ गते साथीले बोलाएर घरबाट लगिएका इटहरी–११ का १५ वर्षीय छोरा इमतियाज मियाँ चार दिनपछि मृत फेला परे । स्थानीय अवजल मियाँका छोरा इमतियाजको शव घरदेखि दुई सय मिटर दक्षिण–पूर्वतर्फ धान खेतमा फेला परेको थियो । पेट्रोल छर्केर आगो लगाई डढेको अवस्थामा उनको शव भेटिएको थियो ।

यस्तै असोज ४ गते गोली हानेर सुनसरीकै हरिनगर–२ स्थित रैरयान नेसनल स्कुलका सञ्चालक ५० वर्षीय मौलाना खुर्सिद आलमको हत्या भयो । उनको हत्या भारतीय आपराधिक समूहबाट भएको आशंका गरिएको छ । घटना छानबिनका लागि गृहमन्त्रालयले प्रदेश नं. १ का एसएसपी किशोर दाहालको संयोजकत्वमा छानबीन समिति गठन गरेपनि हत्यारा भने अझै पहिचान हुन सकेको छैन।

गढी–२ की अञ्जलीकुमारी चौधरी र दुहबी–११ का जीवन चौधरीबीच गाढा प्रेम सम्बन्ध थियो । तर परिवारलाई स्वीकार नभएकाले उनीहरू कात्तिक अन्तिम साता घरबाट भागे । भागेको भोलिपल्ट दुहबी–२ मा झुन्डिएको अवस्थामा अञ्जली मृत भेटिइन् । उनको हत्या नै भएको भन्दै अञ्जलीका आफन्तले किटानी जाहेरी दिएपछि पक्राउ परेका जीवन अहिले पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

यस्तै दुई महिनाअघि दुहबी क्षेत्रमै करिब ५० वर्षीय पुरुषको हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनायो । अहिलेसम्म ती व्यक्तिको नाम–थर खुल्न सकेको छैन । यसरी सुनसरीमा साउनयता मात्र ११ वटा हत्याका घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । एकपछि अर्को हत्या हुन थालेपछि जिल्लाबासी त्रासमा छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.