सुरक्षा व्यवस्था चुस्त, सुरक्षाकर्मीकाे घेरामा भिआइपी

| 2018 Nov 30 | 03:15 pm 1610

काठमाडौं, मंसिर १४  : नेपालमा पहिलो पटक हुन लागेको ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’का लागि सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र म्यानमारका स्टेट काउन्सिलर आङ सान सुकीलगायत उच्चस्तरीय प्रतिनिधिमण्डलबीच शुक्रबार अन्नपूर्ण होटलमा दुई पक्षीय वार्ता हुँदै ।

सबै सुरक्षा निकायलाई आवश्यक निर्देशन दिएर सुरक्षा व्यवस्था चुस्त पारिएको गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिएका छन् । उनले अति–विशिष्ट र विशिष्ठ व्यक्ति सवार हुने क्षेत्रमा सुरक्षा अवस्थालाई समेत ध्यान दिई आवश्यक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।

‘विभिन्न देशका बहालवाला राष्ट्र÷सरकार प्रमुखसहित ४५ देशका पाहुन आउने भएकाले सुरक्षा व्यवस्था भरपर्दाे बनाएका छौं’, अधिकारीले भने, ‘परम्परागत सुरक्षा योजनाअनुसार विभिन्न घेरामा सुरक्षाकर्मी परिचालन छन्, सुरक्षा खतरालाई समेत ध्यान दिइएको छ ।’

‘मुख्य गरी आवास क्षेत्र, कार्यक्रमस्थल, सडक क्षेत्रको सुरक्षामा थप ध्यान केन्द्रित छ’, अधिकारीले भने । सरकारको आमन्त्रणमा आउने पाहुनाको हकमा व्यक्तिगत सुरक्षाको व्यवस्था समेत गरिएको गृह मन्त्रालयले जनाएको छ । सुरक्षा योजनामा उपत्यकालाई नै समेटिएको छ ।

प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले सूक्ष्म अध्ययन गरी सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी नराखेको भन्दै मातहतका सुरक्षाकर्मीलाई कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन दिएको बताए ।

गृह मन्त्रालयको निर्देशनअनुसार सुरक्षाकर्मी थप गरिएको समेत उनले जानकारी दिए । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले ट्राफिक व्यवस्थापनमा कुनै समस्या नरहेको बताउँदै हरेक क्षेत्रको आवागमन सहज पारिएको बताए ।

अतिविशिष्ट र विशिष्ट पाहुना आउने भएपछि ट्राफिक व्यवस्थापनका लागि ध्यान दिँदै नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा चल्ने सवारी साधनमा लगाएको जोर विजोर प्रणाली भने सर्वसाधारणको असहजतालाई ध्यान दिंदै आज बिहान ११ः३० बजेदेखि हटाइएको उनले बताए ।

गएको भदौमा भएको बिम्स्टेक सम्मेलपछिको यो बृहत् सम्मेलन भएकाले सोहीअनुसार हरेक सुरक्षा अङ्ग परिचालन भएका छन् । सम्मेलनमा छ राष्ट्र-सरकारप्रमुख तथा उपप्रमुख, पाँच प्रथम महिला, १० पूर्वराष्ट्र प्रमुख, एक उपप्रधानमन्त्री, पाँच सभामुख तथा उपसभामुख गरी ४५ देशका एक हजार ५ सय विदेशी विशेष अतिथिको सहभागिता रहने जनाइएको छ ।

सम्मेलनमा भाग लिन टुभालुका राष्ट्रपति लाकोबा ताइया इतालेनी, म्यान्माका स्टेट काउन्सिलर आङ सान सु की र कम्बोडियाका प्रधानमन्त्री हुन सेन बिहीबार काठमाडौँ आइपुगेका छन् ।

फिलिपिन्सका उपराष्ट्रपति लेनी रोब्रेदो बुधबार आएका थिए । सम्मेलनमा सहभागी हुन शुक्रबार नाउरुका राष्ट्रपति बारोन वाका र समोआका राष्ट्र प्रमुख अफिओगा तुइमालियालिफानो भालेटोआ सुवालौभी द्वितीय आउँदै छन् ।

नेपाल सरकार तथा संघीय संसद् नेपालको सहयोगमा इन्टरनेशनल कन्फरेन्स अफ एशियन पोलिटिक्स (आइक्याप), युनिभर्सल पिस फेडेरेशन (युपिएफ), इन्टरनेशनल एशोसिएसन अफ पार्लियामेन्ट फर पिस (आइएपिपी) लगायत संस्थाको आयोजनामा सम्मेलन हुन लागेको हो । सम्मेलन मंसिर १७ गतेसम्म काठमाडौँमा हुनेछ ।

विशिष्ट पाहुनाको सुरक्षा र यातायातको व्यवस्थापन कार्य नेपाल सरकारले गरेको छ । सम्मेलन आयोजना गर्नका लागि पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा समिति समेत गठन गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.