हल्लाका भरमा लगानीको निर्णय नगर : नेप्से

रिपोर्ट नेपाल | 2018 Nov 28 | 12:37 pm 1426

काठमाडौं, मंसिर १२ : नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयर लगानीकर्तालाई हल्लाका आधारमा लगानीको निर्णय नगर्न आग्रह गरेको छ । नेप्सेले लगानीकर्तालाई कम्पनी र बजारको अवस्था बुझेर मात्र लगानी गर्नसमेत सुझाएको छ।

पछिल्लो समयमा निरन्तर घट्दो क्रममा रहेको सेयर बजारमा लगानीकर्ता होसियार भएर लगानीको संरक्षण गर्नुपर्ने नेप्सेले जनाएको छ । नेप्से परिसूचक निरन्तर घटेर ११ सयको लाइनमा झरेको छ । तर, मंगलबार भने केही सुधार आएको छ।

सेयर बजारमा अनलाइन कारोबार प्रणाली सुरु भए पनि लगानीकर्ताले कारोबार गर्न नपाएपछि सोमबार नेप्सेमा भेला भएका थिए। आगामी केही दिनमै अनलाइन कारोबार प्रणाली सुरु गर्ने नेप्सेको प्रतिबद्धतापछि लगानीकर्ता फर्केका थिए। अनलाइन कारोबार हुने भनेर लगानीकर्ता केही सकारात्मक भए पनि दीर्घकालीन हुनेमा आशंका रहेको विश्लेषकहरू बताउँछन्।

आधिकारिक सूचनाका लागि नेपाल धितोपत्र बोर्ड, नेप्से तथा सीडीएस एन्ड क्लियरिङको वेबसाइट नियमित हेर्नसमेत नेप्सेले लगानीकर्तालाई सुझाव दिएको छ । सीडीएसबाट सदस्यता प्राप्त निक्षेप सदस्यमा गई आफ्नो डिम्याट खाता खोल्न तथा आफूले लगानी गर्ने कम्पनीको व्यवस्थापन, प्रतिस्पर्धात्मक क्षमता, कार्य सम्पादन तथा विगतका वर्षमा दिएको प्रतिफलको अध्ययन गरी लगानी गर्नुपर्ने नेप्सेले जनाएको छ।

लगानीमा लाभ र नोक्सान दुवै हुनसक्छ भन्ने मान्यताका आधारमा जोखिमको मूल्यांकन गरी हल्ला, प्रचारबाजी र बहकाउमा नलागी विवेकपूर्ण तरिकाबाट लगानी गर्नसमेत नेप्सेले आग्रह गरेको छ । कम्पनीको सेयरको बजार मूल्यमा सूचनाले प्रत्यक्ष प्रभाव पार्ने भएकाले यस्ता सूचनाहरू समयमा नै प्राप्त गरी अद्यावधिक रहनसमेत नेप्सेले लगानीकर्ताले आग्रह गरेको छ । सेयरको मूल्यमा उतार चढाव स्वाभाविक भएकाले संयमित भई लगानी गर्नुपर्ने नेप्सेले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.