सन्दीपको दुई विकेटमा केरलाले अंक बाँड्यो

रिपोर्ट नेपाल | 2018 Nov 26 | 09:05 am 1831

काठमाडौं, मंसिर १० : नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएपनि केरला किंग्सले राजपुत्ससँग अंक बाँडेको छ। युएईमा जारी टि-१० क्रिकेट लिगअन्तर्गत आफ्नो तेस्रो खेलमा वर्षा भएपछि केरलाले राजपुतसँग अंक बाँडेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको राजपुत्सले नौ ओभरमा पाँच विकेटको क्षतिमा ९५ रन बनाउँदा वर्षा भएको थियो। लौरिई इभान्सले राजपुत्सका लागि ३८ रन बनाएका थिए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले दुई विकेट लिन सफल भए। उनले पहिलो ओभरमा नै मोहम्मद शाहजादलाई एक रनमा आउट गराएको थिए।

त्यस्तै, आफ्नो दोस्रो तथा अन्तिम ओभरमा कार्लोस ब्राथवाइटलाई पनि एक रनमै आउट गराएका थिए । २ ओभर बलिङ गरेका सन्दीपले २३ रन खर्चेर २ विकेट लिएका थिए ।

यसअघि केरलाले आफ्नो पहिलो खेलमा पख्तुन्सलाई ८ विकेटले पराजित गर्दा सन्दीपले ३ विकेट लिन सफल भएका थिए। पहिलो खेलमा नै म्यान अफ द म्याच घोषित भएका सन्दीपले आफ्नो दोस्रो खेलमा पनि १ विकेट लिन सफल भएका थिए। तर केरला यो खेलमा भने सिन्धिससँग ९ विकेटले पराजित भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.