सम्झौताको एक महिनापछि मलेसियाले भन्यो, ‘कामदार पुरानै संयन्त्रबाट’

| 2018 Nov 26 | 08:57 am 2320

काठमाडौं, मंसिर १० : श्रमसम्बन्धी नयाँ सम्झौता गरेको एक महिनापछि आएर मलेसियाले पुरानै संयन्त्रबाट कामदार पठाउन नेपाल सरकारलाई पत्राचार गरेको छ।

कलिङ भिसा पाएर श्रमस्वीकृति लिएका झन्डै १० हजार कामदार ६ महिनादेखि अलपत्र रहेको अवस्थामा मलेसियाले पुरानै संयन्त्रबाट ती कामदार पठाउन आग्रह गरेपनि नेपाल सरकार नयाँ सम्झौता कार्यान्वयन गर्ने पक्षमा रहेको बताइरहेको छ।

श्रममन्त्री गोकर्ण विष्टले मलेसियाको प्रस्तावबारे ठोस जवाफ नदिई सरकार दुई देशबीचका समझदारीको मर्म र भावनाका आधारमा गम्भीरतापूर्वक अगाडि बढ्ने बताए।

‘समझदारी कार्यान्वयन गर्न केही विषयका प्रक्रियालाई टुंग्याउनुछ, मसिना समस्यासमेत टुंग्याउने गरी प्राविधिक बैठक पुन: बस्छौं,’ उनले भने। टुंग्याउनुपर्ने विषयबारे नेपाली दूतावासमार्फत मलेसियाको सम्बन्धित ठाउँमा कुरा भइरहेको उनले बताए।

कलिङ भिसा (प्रवेश गर्न दिइने भिसा) जारी भइसकेका कामदार नरोक्न आग्रह गर्दै मलेसियाले नेपाललाई पत्र लेखेको हो। पत्रमा उसले भिसा प्रक्रियाका लागि पुरानो संयन्त्र यथावत् रहेको जनाएको छ। वैदेशिक रोजगार विभागले जेठ २ यता मलेसिया जाने नयाँ कामदारलाई श्रमस्वीकृति दिएको छैन।

काठमाडौंस्थित मलेसियाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएर दुई देशबीचको श्रम समझदारी र संयुक्त कार्यगत समूह बैठकको सहमतिअनुसार कामदार पठाउने प्रक्रिया सुरु गर्न अनुरोध गरेको हो।

दुई देशबीच गत कात्तिक १२ गते समझदारीमा हस्ताक्षर भएको थियो। लगत्तै प्राविधिक बैठकले समझदारी कार्यान्वयनका लागि नमिलेका विषयलाई लिपिबद्ध र मिलेकामा सहमति गरेको थियो। समझदारीले नेपाली कामदारमाथिको भार हटाएको छ।

मलेसियाले जेठमा कलिङ भिसा पाएका कामदार श्रमस्वीकृतिको प्रतीक्षामा रहेको भन्दै नेपालको ध्यानाकर्षण गराएको हो। कलिङ भिसा जारी भएका र पूर्वस्वीकृति पाएका झन्डै १० हजार कामदार रहेको वैदेशिक रोजगार व्यवसायी संघको दाबी छ। दुईपक्षीय प्राविधिक (कार्यगत) समिति बैठकले कलिङ भिसाको विषय टुंग्याएको थियो।

प्राविधिक बैठकमा भने नेपालले यी संयन्त्रमाथि पुन: समीक्षा गर्न अनुरोध गरेको थियो। मलेसिया तयार पनि भएको थियो। जेठ २ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आईएससी र ओएससीबाट कामदारमाथि लिने शुल्क र ३७ स्वास्थ्य संस्थाको एकाधिकार खारेज गरेको थियो। श्रमको निर्णयलगत्तै गृहले यी संयन्त्रका सञ्चालकमाथि ठगी मुद्दा चलाएको थियो, जुन अदालतमा विचाराधीन रहेको खबर कान्तिपुर दैनिकमा छ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले मलेसियामा कामदार पठाउने कार्य यथासक्य छिटो सुचारु गर्नुपर्ने बताए। ‘कलिङ भिसा पाएका कामदार जान नपाएर पीडित भएका छन्, म्यानपावर व्यवसायले काम नपाएर त्यत्तिकै बस्नुपरेको छ,’ उनले भने, ‘समझदारी कार्यान्वयनमा लैजान दुवै पक्षको सक्रियता जरुरी छ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.