काठमाडौं, मङ्सिर १० : सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन आइतवार पनि सेवाग्राहीले भर्न पाएनन्।
शुक्रबार खुला गरिएको केही छिनमै विभागको सरबर डाउन भई सफ्टवेयरले काम नगरेपछि देशभरका अनलाइन फारामको आवेदन आइतवार पनि अवरुद्ध भएको हो ।
दशैंअघि बन्द गरिएको नयाँ आवेदन चाडपर्व सकिएपछि खुला गरिएको थियो । यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले भने, ‘आइतवार पनि काम हुन सकेन ।
एकैचोटी एक लाखसम्मले आवेदन भरेका छन । ओभरफ्लो भएर दिनभरि काम भएन । क्षमता थप गर्ने काम भएको छ । यसको समाधान छिटै हुन्छ ।’
बीचमा आवेदन वन्द गरिएको हुँदा अहिले एकैपटक सबैले फारम भरेकाले ओभरफ्लो भएको विभागले जनाएको छ । दैनिक लाइसेन्सको माग बढ्नुका साथै लिखित परीक्षामा उत्तीर्ण गरी ट्रायलमा अनुत्तीर्ण भई पुनः ट्रायल दिनेहरूको सङ्ख्या बढेपछि नयाँ आवेदन बन्द गरिएको थियो ।