लेखा समिति भन्छ : वाइडबडीमा ६ अर्ब ५९ करोड घोटाला भयाे

| 2018 Nov 25 | 04:11 pm 2009

काठमाडौं, मंसिर ९ : सार्वजनिक लेखा समितिका सभापति भरत शाहले नेपाल वायु सेवा निगमको वाइडबडी खरिद गर्दा साढे ६ अर्ब घोटाला भएको देखिएको बताएका छन् । संसदको सार्वजनिक लेखा समितिको आइतवार बसेको बैठकमा जहाज खरिदमा घोटाला मात्रै नभइ क्रेताले पाउने कमिशन पनि गायब बनाइएको निचोड निकालिएको हो ।

बैठकमा सभापति भरत शाहले विमान खरिद प्रक्रियामा प्रश्नै प्रश्न उठाएका छन् ।   सभापति साहले नेवानिका दुई वाइडबडी ल्याइँदा भएको घोटालाबारे सरकारसँग जबाफ मागेका हुन् । साहले दुई वाइडबडी ल्याउँदा उठेका प्रश्नहरुको फेहरिस्त बैठकमा प्रस्तुत गर्दै क्रेताको कमिशन नै गायव गरिएको समेत उल्लेख गरे ।

‘व्यवसायीहरुका अनुसार जहाज खरिदमा उत्पादक कम्पनीले १० प्रतिशत क्रेतालाई कमिसन दिने गर्छन् भनिन्छ । तर, २४ अर्बको खरिदमा निगमलाई आउनुपर्ने कमिसन २ अर्ब ४० करोड कता गयो ?’ उनले भनेका छन्, ‘कमिसन, अधिकतम उडान भार कटौती र मूल्यांकन गरी २४ अर्बको खरिदमा ६ अर्ब ५९ करोड घोटाला भएको देखिन्छ । यसमा निगमको भनाइ के छ ?’

समितिले निगमलाई जहाज ल्याउने क्रममा सीधै एयरबससँग कुरा नगरी फर्जी कम्पनीमार्फत गरिएको सम्झौतामा प्रश्न उठाउँदै त्यहीँबाट घोटालाको सुरु भएको भन्दै यसको जबाफ निगम र सरकारसँग मागेको छ ।

निमगले किनेका जहाजको पनि व्यवस्थापन नगरेको र संस्थाको सञ्चित घाटा चुलिँदै गएकोमा पनि चिन्ता जनाउँदै ३३ अर्ब भन्दा धेरै ऋणमा डुब्नुको कारण पनि समितिले सोधेको छ ।

लेखा समितिले वाइड बडी खरिद सन्दर्भमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबाट भएको छानबिनमाथि पनि प्रश्न उठाएको छ । छानबिन समितिका सदस्यहरु निगम सञ्चालक समिति सदस्य र खरिद प्रक्रियामा सहभागी व्यक्तिहरु नै रहेको लेखा समितिले बताएको छ ।

‘सो समितिमा निगम सञ्चालक समितिका सदस्य मुक्ति पाण्डे, नागरिक उड्ययन प्राधिकरणका उपनिर्देशक रितेषराज पन्त, निगमकै सञ्चालक समितिका सदस्य सचिव अशोक सिग्देल, प्राधिकरणका विशेषज्ञ पाइलट बीएम अमात्य रहनुभएको देखियो’ सभापति शाहले प्रश्न गरेका छन् ‘संलग्नहरु नै रहेर छानबिन निष्पक्ष भयो भन्ने आधार के छ ? पर्यटन मन्त्रालयले गरेको छानबिनको निश्कर्ष के आयो ? ’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.