काठमाडौं, मंसिर ८: काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा छुरा प्रहारबाट दुई युवा घाइते भएका छन् ।
दुबैजनाको अहिले बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ। अनिल श्रेष्ठ नाम गरेका एक र अर्का घाइतेको नाम खुलेको छैन । उनीहरु अन्दाजी २० वर्षका भएको प्रहरीले बताएको छ ।
शनिबार दिउसो १ बजेतिर भएको यस घटनाको कारण भने अझै पत्ता लागेको छैन । घटनाको विषयमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले बताएको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार दुई घाइते दौडिदै आएर सडकपेटीमै लडेर बेहोस भएका थिए ।
त्यसपछि स्थानीय पसलेले प्रहरीलाई खबर गरी घाइतेलाई अस्पताल पठाएका हुन् । सोही क्षेत्रमा यसअघि पनि पटक पटक सामूहिक झगडा हुने गरेको स्थानीय बताउँछन् ।