नेकपाको हाइकमान्‍ड आज पनि बालुवाटारमा बस्‍ने

रिपोर्ट नेपाल | 2018 Nov 23 | 09:42 am 1791

काठमाडौं, मंसिर ७: नेपाल कम्युनिस्ट पार्टीको बैठक बिहीबार स्थगित हाइकमान्‍ड शुक्रबार दिउँसो २ बजे फेरि बस्‍ने भएको छ। बिहीबारको बैठकमा महासचिव विष्णु पौडेल र नेता रामबहादुर थापा सदस्य रहेको कार्यदलले आफ्नो प्रतिवेदन बुझाएका थिए।

पार्टीभित्रका २१ केन्द्रीय सदस्यले ज्ञापनपत्र बुझाएको आन्तरिक विवाद चुलिएकै अवस्थामा बिहीबार हाइकमान्ड बोलाइएको थियो। पटक-पटक बस्दै र सर्दै आएको हाइकमान्ड बैठक कुनै निष्कर्ष विना नै स्थगित गरिएको थियो। आज बस्‍ने बैठकमा उक्त प्रतिवेदनमाथि छलफल गरिने जनाइएको छ।

बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसङ्गठनको एकता, स्थायी समिति बैठकको मिति तथा कार्यसूची र पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल गरिने छ।

पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति नलिएको, स्थायी कमिटीको बैठक नबसेको तथा सरकार र दलबीच समन्वय नभएको विषयमा आवाज उठ्दै आएको छ। यसबीचमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएको तथा तिहार र छठ पर्व परेकाले लामो समयदेखि बैठक बस्‍न सकेको थिएन। नेकपाको पछिल्लो सचिवालय बैठक गत कात्तिक ८ गते बसेको थियो।

पार्टीले प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी तोकिसकेको छ। तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच गत जेठ ३ गते एकता भएपछि तीन महिनाभित्र सकिने भनिएको तल्लो तहको एकता हालसम्म हुन सकेको छैन।

नेकपाका माधव नेपाल पक्षधर २१ केन्द्रीय सदस्यले बुधबार सरकार र पार्टी सञ्चालन प्रक्रिया वैज्ञानिक, पारदर्शी र समन्यायका आधारमा नभएको आरोप लगाउँदै नेतृत्वसमक्ष ज्ञापनपत्र बुझाएका थिए।

अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सचिवालयका नाममा भइरहेको एकलौटी निर्णयसँगै पार्टी एकता प्रक्रियामा विलम्ब, जिम्मेवारी बाँडफाँटमा मनोमालिन्य, योग्यताका आधारमा भूमिका र जिम्मेवारी वितरणमा न्याय नभएको ती केन्द्रीय सदस्यहरूको गुनासो छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.