फाइल फोटो
काठमाडौं, मंसिर ७ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउँदले वाम सरकार व्यक्तिगत र पार्टीलार्इ आर्थिक जोहो गर्ने काममा केन्द्रित भएको बताएका छन्।
शुक्रबार एपी१ टेलिभिजनसँगको कुराकानीमा नेता साउँदले सरकार अराजकताको बाटोमा अघि बढिरहेको उल्लेख गर्दै भने, ‘दुर्इ तिहाइको सरकार जनअपेक्षा विपरित गएको छ। व्यक्तिगत र पार्टीलार्इ आर्थिक जोहो गर्ने काममा केन्द्रित भएको छ।’
नेपाली कांग्रेसले सरकारका यस्ता विकास विरोधी र भ्रष्टाचारलार्इ प्रश्रय गर्ने काम नेपाली कांग्रेसले स्वीकार गर्न नसक्ने उनले बताए।
उनले भने, ‘शोषणको विरोध गर्ने, पूँजीवादको विरोध गर्ने, समान हैसियत बनाउने भनेर नारा लगाएको कम्युनिस्ट पार्टीले अहिले यसरी भ्रष्टाचार र अपराध बढ्दा पनि मौन बसीरहेको छ। के कम्युनिस्ट पार्टीको सिद्धान्त यही हो। नेपाली कांग्रेसलार्इ यसलार्इ यही रुपमा स्वीकार गर्न सक्दैन।
उनले कांग्रेसले माघ-फागुनतीर सशक्त कार्यक्रम गर्ने बताए। उनले आफ्नो पार्टीले सरकारले गरेका हरेक विकास र जनताको अपेक्षा पुरा गर्ने कुरामा साथ दिने बताए।
उनले भने, ‘रेल, तेल, पानीजहाजको भाषण गरेर लुटतन्त्र मच्याउने काम कांग्रेसलार्इ सह्य हुन सक्दैन। जनताले यो लुटको भण्डाफोर गर्नेछन्, यसको नेतृत्व कांग्रेसले गर्नेछ।’