‘नेपाल देशमा सरकार छ? छ भने कहाँ छ?’

| 2018 Nov 22 | 05:38 pm 2104

काठमाडौ, मंसिर ६ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशबाट सरकार बेपत्ता भएको आरोप लगाएको छ । नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको नौ महिने कार्यकालको समिक्षा गर्दै कांग्रेसले सरकार पुरै असफल भएको जनाएको हो ।

आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘मंसिर ३ गते वर्तमान सरकार गठन भएको ९ महिना पुगेको छ, ९ महिना पुगेको यो घडीमा नेपाल देशमा सरकार छ? छ भने कहाँ छ भनेर छोटो तर कारुणीक प्रश्न सार्वजनिक गर्नुपर्ने अवस्था बनेको छ,’ प्रवक्ता शर्माले भने, ‘यो ९ महिनामा मुख्य ९ प्रश्नमा सही जवाफ पस्कन सरकार असफल भएको वस्तुगत तथ्य जगजाहेर छ।’

सरकारबारे कांग्रेसको ठहर 

(१) लोकतान्त्रिक संस्कृति : लोकतान्त्रिक प्रकृयाको चर्चा मात्रै त्यसको मानक किमार्थ होइन ।

(२) राष्ट्रवाद : पुरानो दावी र पछिल्लो स्थितिको तुलना ।

(३) संघीयता : कम्यूनिष्ट दर्शनले नहिडेको बाटो, असफल तुल्याउने सुनिश्चित षडयन्त्र ?

(४) सुसासन : नमच्चिने पिङको सय झड्का ।

(५) बजारमूल्य : कम्युनिष्ट सरकार बन्न अघि ०७४ माघ महिनाको बजार मूल्यसँग तुलना गर्दा सहज ।

(६) शान्ति सुरक्षा : प्रधानमन्त्रीकै निर्वाचन क्षेत्रमा २ को हत्या ।

(७) न्यायालय : आस्थाको साझा थलोमा राजनीतिक आस्थाको अतिक्रमण ।

(८) संविधानप्रति अपनत्व विस्तार :  सत्तालाई बलियो बनाउन वार्गेनिङ्ग चिप्स, प्रगति शून्य ।

(९) समृद्धि यात्रा : विना प्रतिष्पर्धा गेजुवालाई वुढी गण्डकी, निजगढ विमानस्थल कागजमै अलमल, केरुङ–काठमाण्डौं–रक्सौल, रेल चर्चा फायलमा बन्द ।

यसैगरी मन्त्रिपरिषदको निर्णय ७ दिनमा सार्वजनिक गर्ने भन्ने सरकारी तयारी सूचनाको हक र पारदर्शिताको प्रतिवद्धता विपरीत भएको पनि काँग्रेस निष्कर्ष छ । यसप्रति विमति प्रकट गर्दै २४ घण्टामै सार्वजनिक गर्ने प्रवन्धका लागि काँग्रेसले सरकारसंग आग्रह पनि गरेको छ ।

विकासका सवै ठूला परियोजना प्रधानमन्त्री कार्यालय मातहत ल्याउने तयारी संघीयताको मर्म प्रतिकुल त छ नै यसले यसको प्रभावकारीलाई झनै असर पुग्ने पनि काँग्रेसको ठम्याई छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा केहि साता यता निरन्तर गिरावट आए पनि स्वचालित मूल्य निर्धारण प्रणालीलाई प्रभावकारी कार्यान्वयन गर्न सरकारले नसकेको आरोप पनि काँग्रेसको छ ।

जस्ले उपभोक्ता मारमा परेको पनि काँग्रेसको ठहर छ । पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकास शर्माले वाइड बडी प्रकरणको वास्तविकता रहस्यमय बन्नु गम्भीर भएको बताउनु भयो । वाइटबडी प्रकरणमा गम्भीर घोटालाको आशंका माथि गहिरो छानविन गर्न कांग्रेस केन्द्रीय समितिले असोज २१ को वैठकबाट गरिएको माग पुनः दोहोर्याएको छ ।

पत्रकार सम्मेलनमा जयनगर–जनकपुर–कुर्था रेल सेवाको उद्घाटन भारतको एक राज्यका मुख्यमन्त्रीले गर्ने निश्चित भएको विषयले केही गम्भीर प्रश्न जन्माएको पनि प्रवक्ता शर्माले बताउनु भयो ।

यस्तै पत्रकार सम्मेलनमा मंसीर २८ देखि पुष ३ सम्म काठमाण्डौमा हुने नेपाली कांग्रेसको महासमिति वैठकको तयारी यतिवेला तीव्र गतिमा भई रहेको पनि जानकारी दिइएको थियो । महासमिति वैठक पार्टी मुख्यालय प्रांगणमा गर्ने निश्चित भएको पनि जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.