सुनसरी, मंसिर ६ : सुनसरीको दुहबी छाताबेलीका फिदा हुसेनको हत्या प्रकरणमा मृतकका आफन्त र सुनसरी प्रशासनबीच सहमति भएको छ । आज दुहवीमा भएको दुवै पक्षबीचको वार्तामा गृहमन्त्रीको राजीनामा बाहेक पीडित पक्षका सबै माग सम्बोधन गरिने सहमति भएको हो ।
हत्यापछि घोषणा गरिएका यातायात बन्द लगायतका आन्दोलनका सबै कार्यक्रम फिर्ता भएका छन् । मृतकको शव पोस्टमार्टमका लागि पठाइँदै छ । यस अघि हुसेन हत्याको दोषी पत्ता लगाउनु पर्ने माग सहित आन्दोलनमा उत्रिएका स्थानीयले गृहमन्त्री रामबहादुर थापा घटनास्थल आउनु पर्ने अडान राख्दै प्रदर्शन जारी राखेका थिए ।
मुसलमान समुदायमाथिको आक्रमण नरोकिएकाले गृहमन्त्री थापाले घटनास्थलमा आएर शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनु पर्ने उनीहरूको माग थियो । हुसेन हत्याको विरोधको प्रभाव सुनसरीको दुहवी सहित भमरी,औराबनी, इनरुवा लगायतका क्षेत्रमा समेत परेको थियो ।
दुहवी सडक अवरुद्ध हुँदा सो सडक खण्ड भएर गुड्ने सवारीका साधन ठप्प बनेका थिए भने दुहवीका उद्योग कल कारखाना, शिक्षण संस्था र बजार पूर्णरुपमा बन्द भएका थिए ।