आज विश्‍व टेलिभिजन दिवस

| 2018 Nov 21 | 06:46 am 3651

काठमाण्डौं, मंसिर ५ : आज विश्व टेलिभिजन दिवस, विश्वभर मनाइँदैछ । विश्व जगतमा रेडियोको माध्यमबाट सूचना प्रवाह भइरहेको समयमा फरक रुपमा प्रस्तुत हुँदै श्रव्य र दृश्यको माध्यमबाट स्थापित भएको प्रविधि, टेलिभिजनलाई १७ डिसेम्बर १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक बर्ष २१ नोभेम्बरका दिन दिवसको रुपमा मनाउने निर्णय गरिएको थियो ।

श्रव्यसँगसँगै दृश्यको माध्यमबाट यथार्थ रुपमा प्रस्तुत गर्न टेलिभिजन सफल भएसँगै छोटो समयमा ख्याती कमाउन सफल भएको मानिन्छ । सन् १९३० को दशकमा प्रसारण शुरु भएको टेलिभिजन प्रविधिलाई अहिले सबैभन्दा सशक्त सञ्चारको माध्यमका रुपमा लिइन्छ। टेलिभिजनको इतिहासमा सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रशारण गरेको पाइन्छ ।

सन् १९५४ देखि रंगिन टेलिभिजनको विकास भई रंगीन दृष्यहरु हेर्न सकिने अवस्था आएको हो । सन् १९७० को दशकमा विश्वका ६० वटा मुलुकमा टेलिभिजनको प्रत्यक्ष सेवा विस्तार भयो ।
नेपालमा भने सन् १९७० ताका टेलिभिजनका सेटहरु भित्रिएको पाइन्छ।

नेपालमा विस २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको हो । नेपालमा अहिले एकदर्जन बढि टेलिभिजन च्यानलहरु नियमित प्रसारणमा छन्।

घटना भएको स्थानलाई प्रत्यक्ष रुपमा आम दर्शकहरुलाई देखाउन र हरेक विषय वस्तुमा दृश्यसहित सूचना प्रवाह गर्न टेलिभिजन सफल भएको पाइन्छ। सिसाभित्रको दुनियाँ भनेर समेत चिनिने टेलिभिजन प्रविधिको विकाससँगै अहिले मोबाइलमार्फत् पनि हेर्न सकिन्छ। प्रविधिले नयाँ नयाँ अनुसन्धान र विकासगरेसँगै यसले हातमा नै टेलिभिजन हेर्न सकिने गरि विकास गरिदिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.