विजय हत्‍या प्रकरण: शव अस्पतालमा छाडेर प्रशासनमा धर्ना

रिपोर्ट नेपाल | 2018 Nov 20 | 07:56 am 1616

काठमाडौं, म‌ंसिर ४ : प्रहरीले हत्यारा जोगाउन खोजेको आरोप लगाउँदै धनगढीका बासिन्दा विरोधमा उत्रिएका छन्। चार दिनअघि हत्या गरिएका धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीका विजय थापाका आफन्तजनले शव अस्पतालमै छोडेर जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिएका छन्।

गत शुक्रबार राति ९ बजेतिर उत्तरबेहडीस्थित प्रदेश प्रमुखको कार्यालयअगाडिको घरमा २४ वर्षीय विजयको हत्या भएको थियो। टाउकोमा चोट लागेर रक्ताम्य अवस्थामा रहेका विजयलाई सडकमा घिसार्दै गर्दा स्थानीय बासिन्दाले देखेका थिए। उनीहरूले प्रहरीलाई खबर गरेपछि विजयलाई सडकमा घिसारिरहेका आशिष सेडी पक्राउ परेका थिए।

सेती अञ्चल अस्पतालमा शवको पोस्टमार्टम गरिएको थियो। पोस्टमार्टमा टाउकामा लागेको चोटका कारण मृत्यु भएको देखिएको कैलाली जिल्ला प्रहरी कार्यालयका डिएसपी हरि वलीले बताए। पोस्टमार्टमका लागि अस्पताल लगिएको विजयको शव सोमबार पनि अस्पतालमै रहेको छ।

उनका आफन्त र स्थानीय बासिन्दा प्रहरीले हत्यारालाई बचाउन खोजेको आरोप लगाउँदै प्रदर्शनमा उत्रिएका हुन्। उनीहरू हत्यारालाई कारबाही गर्न र सुरक्षाको माग गर्दै आइतबारदेखि जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसेका हुन्। सोमबार उनीहरूले विरोध प्रदर्शन गर्दै धर्ना दिए।

प्रहरीले दोषीलाई कारबाही गर्नुको सट्टा संरक्षण गरिरहेको विजयकी आमा सीताले आरोप लगाइन्। हत्यामा संलग्नलाई सार्वजनिक नगरेसम्म शव नबुझ्ने उनको भनाइ छ। ‘चार दिनसम्म हत्यारालाई सार्वजनिक गरेको छैन, लुकाएर राखेको छ। मेरा छोराका हत्यारा सार्वजनिक नगरिएसम्म शव बुझ्दैनौँ,’ सीताले भनिन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.