चितवन, कात्तिक ३ : राष्ट्रिय निकुञ्जमा रहेका हात्तीहरुले बच्चा जन्माउने क्रम बढेको छ । यसै क्रममा आज सोमबार बिहान कसरा हात्तीसारमा रहेको हात्तीले थप एउटा छावा जन्माएको छ । यस वर्ष तीन हात्तीले बच्चा जन्माएका छन् भने पाँच ढोई गर्भिणी रहेका छन् । तिनीहरूले पनि यसै वर्ष बच्चा जन्माउने अनुमान गरिएको चितवन हात्ती प्रजनन् केन्द्रले जनाएको छ ।
तालीम केन्द्र खोरसोरका प्रमुख बुधन चौधरीका अनुसार सोमबार बिहान करिब साढे ४ बजे कसरा हात्तीसारमा रहेको तमरकलीले भाले छावा जन्माएको हो । गर्भिणी भएको जस्तो नदेखिएको भए पनि अकस्मात् बच्चा जन्माएको तमरकलीका दरोगा (स्याहारकर्ता) राजेन्द्र पनवाले जनाए।
गत असोज २३ गते पुजाकलीले पोथी र कात्तिक १६ गते गणेशकलीले भाले छावा खोरसोरमा जन्माएका छन् । प्रमुख चौधरीका अनुसार निकुञ्जको सुखीभार पोष्टमा रहेको तीर्थमानकली र टाइगरटप्स पोष्टमा रहेको गण्डकीकली गर्भिणी छन् । प्रजनन केन्द्रमा रहेका लोकतन्त्रकली, कर्णालीकली र चितवनकली पनि गर्भिणी रहेको चौधरीले बताए ।
गत वर्ष चितवनकलीले सिमसिमकली, कर्णालीकलीले अम्बेकली, पुजाकलीले खोरसोरगञ्ज र गणेशकलीले कृष्णचन्द्रगञ्ज गरी चार बच्चा जन्माएका थिए । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले पछिल्ला वर्षमा प्रजनन् राम्रो रहेको बताए । हात्तीसारको व्यवस्थापनमा सुधार, आहारमा सुधार, जङ्गली भालेको आगमन, स्वास्थ्योपचारको सुविधा, प्रजनन् स्वास्थ्यमा सुधारलगायतका कारण प्रजनन राम्रो भएको ढकालले जनाए ।