कारागारको क्षमताभन्दा, कैदीबन्दी बढी

रिपोर्ट नेपाल | 2018 Nov 18 | 02:24 pm 1825

बाँके, कात्तिक २ :  जिल्ला कारागार बाँकेमा कारागारको क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् ।   कारागारको क्षमता तीन सयको छ भने हाल उक्त कारागारमा पर्याप्त कोठा अभावमा महिला ५६ पुरुष ६ सय २३ र एक आश्रित बालकसहित जम्मा ६ सय ७९ कैदीबन्दी राखिएको जेलर श्यामलाल लामिछानेले जानकारी दिए ।

चारैतिर बलिया पर्खाल नरहेका कारागार घना बस्तीको बीचमा रहेका र क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले सुरक्षा चुनौती थपिएको जेलर लामिछानेले बताए ।

नेपालगञ्ज–१० मा रहेको उक्त कारागारको भौतिक अवस्था पनि दिन प्रतिदिन जीर्ण बन्दै गएको छ । स्थापना हुँदा बनेका दुई भवन र पर्खाल एकदमै पुराना भइसकेका छन् । कारागारमा कैदीबन्दीको चाँप बढदै गएकोले वरपर अत्यन्तै फोहर र ढल निकासको पर्याप्त व्यवस्था नरहेको बताइएको छ ।

फोहरकै कारण सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई समेत सुरक्षा दिन अप्ठ्यारो हुने गरेको छ । सुरक्षाका लागि कारागारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ५० जना सुरक्षाकर्मी छन् ।

जेलर लामिछानेका अनुसार जिल्लाको गनापुरमा आठ बिगाह क्षेत्रफलमा खुला कारागार निर्माणको काम जारी रहेको छ । कारागारको निर्माण सकिएको र अन्य संरचना निर्माण भइरहेका बताइएको छ ।

उक्त खुला कारागारमा रहने कैदीबन्दी बाहिर काममा जानसक्ने प्रावधान राखिएको छ । बाँकेकै नौवस्तामा पनि १० बिगाह क्षेत्रफलमा तीन हजार कैदीबन्दी अटाउने क्षमताको क्षेत्रीय कारागार निर्माण भइरहेको छ । यी दुबै कारागारको निर्माण पाँच वर्षभित्र सक्नुपर्ने सम्झौता गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.