श्रीमतिलार्इ गोली र छोरालार्इ खुकुरी प्रहार गरी हत्या

रिपोर्ट नेपाल | 2018 Nov 18 | 10:25 am 2865

रुकुम, मंसिर २ : रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन्। जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इन्द्रकला बुढा र छोरा ११ वर्षीय स्वयमप्रकाश बुढाको हत्या गरेका हुन् ।

बुढाले शनिबार राति २ बजेको समयमा श्रीमती इन्द्रकलालाई भरुवा बन्दुकले गोली हानी र छोरा स्वयमप्रकाशलाई खकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। स्थानीयले खबर गरेपछि घटनास्थलमा पुग्दा आमाछोरा हत्या गरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए।

बुढाले श्रीमती र छोराको हत्यापछि आत्महत्याको प्रयास गरेको उनले बताए। बुढाले आफ्नै घाँटीमा खुकुरी प्रहार गरेको प्रहरी नायब उपरीक्षक खड्काले बताए। बुढाले मदिरा सेवन गरी श्रीमती र छोराको हत्या गरेको बुझिएको र बाँकी अनुसन्धान गर्न बाँकी रहेको खड्काको भनाइ छ । बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

स्थानीयवासीले भने बुढा मानसिक रूपमा स्वस्थ नरहेको बताएका छन् । बुढा यसअघि पाँच दिन जङ्गलमा बसेका थिए । परिवारले खोजी गरी घर ल्याई धामीझाँक्री गरेको र उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेका बेला घटना भएको स्थानीयवासीको भनाइ छ । बुढा परिवारमा यसअघि पनि पटकपटक झगडा हुने गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.