तस्करीको २८ हजार अवैध डलरसहित दुईजना समातिए

| 2018 Nov 18 | 08:14 am 1954

काठमाडौं, मंसिर २ : पर्यटक ओसारपसारमा प्रयोग हुँदै आएको स्कारपियोमा अवैध रुपमा अमेरिकी डलर तस्करी गर्ने दुई जनालाई रसुवा प्रहरीले पक्राउ गरेको छ ।

शनिवार काठमाडौंबाट रसुवागढीतर्फ जाँदै गरेको बा१य १४४६ नम्बरको स्कारपियोमा सवार दुई जनालाई २८ हजार ६ सय अमेरिकी डलरसहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख (डिएसपी) सन्तोष तामाङले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा चितवन रत्ननगर नपा–७ बस्ने ५४ वर्षीय श्रीराम चौधरी र रौतहट साविक सिमरा भवानीपुर गाविस–३ बस्ने ३२ वर्षीय विकास प्रसाद चौधरी रहेका छन् ।

‘विशेष सूचनाको आधारमा चेकजाँच गर्दा पक्राउ परेकाहरुको साथबाट २८ हजार ८ सय अमेरिकी डलर बरामद गरिएको छ’ डिएसपी तामाङले भने, ‘अवैध डलर कारोबारीहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागी राजश्व विभागमा पठाउँछौं ।’

शनिवार विहान चेकजाँचका क्रममा रसुवा प्रहरीले उनीहरुलाई गोसाईकुण्ड गाउँपालिका–६ त्रिशुली खोलबाट नियन्त्रणमा लिएको बताईएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा रसुवामा बसाईसराई गरेको कागजात बनाएका श्रीराम र विकासले ‘चाईना पास’ समेत बनाएको खुल्न आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.