काठमाडौं, मंसिर १ : नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमिति महाधिवेशन नगरी विघटन नगर्न माग गर्दै पार्टी कार्यालय अघि प्रदर्शन गरिएको छ।
नेपाली कांग्रेसको नेविसंघको विषयमा छलफल गर्न बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ।
कांग्रेसको भ्रातृ संस्था नेविसंघको कार्यसमितिको समयावधि मंसिर २ गते अर्थात भोलि आइतबार सकिँदैछ। यसअघि दुईवर्षे कार्यकालका लागि संघको ११ औं महाधिवेशन ०७३ भदौमा भएको थियो ।
शनिबारको बैठकले संघको विधान पारित गरी १२ औं महाधिवेशनको तय गर्न आवश्यक निर्णय लिने जनाइएको छ।
एक पदाधिकारीका अनुसार आसन्न स्ववियु चुनावसम्म नेविसंघको वर्तमान कार्यसमितिको म्याद थप गर्ने तयारी छ। नेविसंघको वर्तमान कार्यसमितिको २ वर्षे कार्यकाल गत भदौ पहिलो साता नै सकिएको थियो। तर, महाधिवेशन गर्न नसकेपछि माउ पार्टी कांग्रेसले महाधिवेशन गर्ने गरी ३ महिना म्याद थपिदिएको थियो। उक्त म्याद यही मंसिर २ गते सकिँदै छ ।
केन्द्रीय समिति बैठकमा महासमिति लगायतका समसामयीक राजनीतिक विषयमा पनि छलफल हुने कांग्रेस प्रवक्ता शर्माले जानकारी दिए।
सबैभन्दा पुरानो र ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेसले संविधान अनुकुल पार्टीका हरेक संरचनालाई परिवर्तन गर्न नसकेको आरोप लागिरहँदा पार्टीले गत सात महिनाअघि घोषणा गरेको महासमिति बैठकसमेत पार्टीको प्रभावशाली भातृ संस्था नेपाल विद्यार्थी संघको विवादमा रुमलिएको छ।
नेविसंघकै बिबादलाई निकास दिन अब बर्तमान केन्द्रीय नेतृत्वलाई पुनः तदर्थ समितिको रुपमा मान्यता दिएर महाधिवेशन गर्ने जिम्मेवारी दिने वा अन्य नयाँ नेतृत्वलाई महाधिवेशन गर्ने जिम्मेवारी दिने भन्ने निर्णयमा पार्टी पुगिसकेको छैन्। पार्टी सभापति देउवा महर नेतृत्वको वर्तमान केन्द्रीय समितिलाई नै ६ महिनाको अवधी तोकेर महाधिवेशनको जिम्मेवारी दिने मुडमा छन्।
तर पार्टी संस्थापनइत्तर पक्ष भने महर नेतृत्व असफल सावित भएकोले वैकल्पिक विद्यार्थीलाई नेतृत्व दिनु पर्ने पक्षमा छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल मोति भण्डारीको नेतृत्वमा महाधिवेशन गर्न दिनु पर्ने पक्षमा छन्। तर अर्का नेता सिटौला भने तत्काल महाधिवेशन गर्न वर्तमान केन्द्रीय समितिलाई जिम्मेवारी दिनु पर्ने अडानमा छन्। उनी तदर्थ समिति गठन गर्ने अवस्था आए महामन्त्री कुन्दनराज काफ्लेलाई जिम्मेवारी दिनु पर्ने पक्षमा छन्।
सभापति देउवाले महर, पौडेलले भण्डारीलाई र सिटौलाले काफ्लेलाई तदर्थ समिति संयोजक बनाउनु पर्ने पक्षमा उभिएपछि उपसभापति विमलेन्द्र निधि भने सरोज थापाको संयोजकत्वमा नेविसंघको १२ औं महाधिवशेन तदर्थ समिति गठन गर्नु पर्ने अडानमा छन्।
यसरी नेतैपिच्छे विद्यार्थी नेताहरु पनि आ आफ्नै नेतृत्वमा महाधिवेशन गर्न पाउनु पर्ने पक्षमा भित्र भित्रै लविङमा लागेका छन्।