कञ्चनपुर, कार्तिक ३० : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीय निर्मला पन्तको न्यायका लागि धर्ना बसेका उनका आमाबुबा बिरामी परेका छन् ।
पाँच दिन अघिदेखि हत्यारा पत्ता लगाउन माग गर्दै २४ घण्टे धर्नामा बसेका निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गा पन्तको स्वास्थ्य नाजुक बन्दै गएको हो । कात्तिक २५ गतेदेखि धर्नामा बस्नुभएका यज्ञराजलाई ज्वरो आउनुका साथै रुखा खोकी लागेको र हातखुट्टा दुख्ने समस्या देखा परेको छ । दुर्गालाई समेत ज्वरो आएको र रक्तचाप घटेको छ ।
उपचारका लागि पुगेका महाकाली अञ्चल अस्पतालका चिकित्सक किशोर बोहराले दुवैको चिसोका कारण स्वास्थ्य बिग्रँदै गएको बताए। निर्मलाकी कान्छी आमा लक्ष्मी पन्तकोसमेत रक्तचाप बढेको पाइएको छ ।
यज्ञराजले छोरीका हत्यारा पत्ता नलाग्दासम्म र न्याय नपाउँदासम्म धर्ना जारी रहने बताए।
अनुसन्धानका क्रममा शंकास्पद चार जनाको संकलन गरेको डीएनए म्याच नभएको कञ्चनपुर प्रहरीले जनाएको छ। कञ्चनपुर प्रहरीले शंकास्पद चारजनाको रगत संकलन गरि कार्तिक दोस्रो साता विधिविज्ञान प्रयोगशाला पठाएको थियो। शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयमा डीएनएको गोप्य रिपोर्ट खोलिएको र त्यो म्याच नभएको कञ्चनपुर प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक कृष्णराज ओझाले जानकारी दिए।
चारैजना भीमदत्तनगरपालिका २ र १८ नम्बर वडाका भएको बताइएको छ। प्रहरीले उनीहरुको नाम भने गोप्य राखेको थियो। प्रहरीले निर्मला हत्याकाण्डको अनुसन्धानका क्रममा यसअघि नै दिलिपसिंह विष्टसँगै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट उनका छोरा किरण विष्ट, स्थानीय आयुस विष्ट र चक्र बडुको समेत डीएनए परीक्षण गराएको थियो ।
निर्मलाको शरीरमा भेटिएको ‘भजाइनल स्वाब’ सँग डीएनए ‘म्याच’ गरेको थिएन । तत्कालीन कञ्चनपुर प्रहरीले मुख्य अभियुक्तका रुपमा गत भदौ ४ गते दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो ।
डीएनए नमिल्दा प्रहरीलाई अनुसन्धानमा थप सकस भएको छ । गत साउन १० गते साथी रोशनी वमको घरमा निस्किएकी भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला पन्त साउन ११ गते मृत अवस्थामा फेला परेकी थिइन् ।
निर्मला हत्याकाण्डको अनुसन्धानमा गम्भीर लापरवाही गरेको भन्दै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर बर्खास्तीमा परेका छन् । प्रहरी प्रधान कार्यालय आफैले प्रहरी अधिकारीको कमजोरीबारे अनुसन्धान गरिरहेको छ । न्याय माग्दै निर्मलाका आमाबुबासहित स्थानीय छ दिन देखि कंचनपुर जिल्ला प्रशासन अगाडी धर्नामा बसेका छन् ।